काठमाडौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाललाई दीर्घकालसम्म वैदेशिक सहायताबाट चलाउन नपर्नेगरी योजना तर्जुमा गर्नु पर्नेमा जोड दिनुभएको छ ।
आज राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले पाँच वर्षीय योजना सफल बनाउन सुझाव दिँदै आर्थिक वर्षको नयाँ बजेट दुई महिनामा आउने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले २५ वर्षे दृष्टिकोणलाई सबैले रणनीतिक, परिवर्तन र गतिशील दस्तावेजका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले बजेटको स्रोत व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।
राष्ट्रिय गौरवका केही ठूला आयोजना चलिरहेको बताउँदै उहाँले संघको दायित्व नघट्दासम्म स्रोतका दायरा निश्चित भइरहने औल्यानुभयो ।स्थानीय तहले उठाएको राजश्वबाट जनतालाई नै सेवा दिएको प्रत्याभूति गराउन सक्नु पर्नेमा उहाँको जोड थियो । उहाँले देश संघीय संरचनामा गइसकेपछि वित्तीय संघीयताको कार्यान्वयन र संघीय प्रणालीको कार्यान्वयन चाडो गर्नुपर्ने बताउनुभयो ।

