बुधबार, बैशाख १२, २०८१

हावाहुरी प्रभावितको बिचल्ली : बालबालिका र वृद्धवृद्धा खुला आकाशमुनी बस्न बाध्य

बारा। विनासकारी हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलियाका स्थानीयले तत्काल उचित वासस्थानको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन्। आइतबार साँझ आएको हावाहुरीका कारण क्षणभर मै अस्तव्यस्त बनेको पुरनिया र भरवलियाका स्थानीयले मंगलबारसम्म पनि अस्थायी वासस्थान पाएका छैनन्।

सुरक्षाकर्मी अस्थायी वासस्थान बनाउने काममा जुटे पनि बस्ती नै उजाड भएकाले तत्काल सबैले ओत लाग्न सक्ने गरी अस्थायी टहरा बन्न सक्ने अवस्था देखिएको छैन। घर, खेतमा लगाएको अन्न बाली र घरभित्र राखेको खाद्यान्न र लत्ता कपडा नरहेपछि उनीहरुले तत्काल टाउको लुटाउने छाप्रो र खाद्यान्नको व्यवस्था गर्न माग गरेका हुन्।

बालबालिका र वृद्धवद्धाको अवस्था अन्त्यन्तै दयनीय बनेको छ। धुलाम्य चौरमा चर्को घाममुनी बस्न बाध्य बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्याको उच्च जोखिम देखिन्छ। घटना लगत्तै विभिन्न संघ संस्था र सरकारी निकाय राहत सामाग्री लिएर सो स्थानमा पुगेको भएपछि वासस्थान तथा अन्य आवश्यक लत्ता कपडाको समस्या सम्बोधन हुन सकेको छैन।

खुला आकाशमुनी बस्दा दिनभरको घाम र रातको शीत तथा लामखुट्टेको टोकाइबाट झाडापखालालगायतको प्रकोपको जोखिम बढेको छ। राहत सामाग्री लिएर पुरनिया पुगेका चिकित्सक डाक्टर गोविन्द केसीले प्रभावितका लागि सरकारले तत्काल अस्थायी वसोबासको व्यवस्था मिलाई मनोपरामर्श सेवा दिनुपर्ने बताए।

गाउँमा रहेका पीउने पानीका चापाकल पनि हुरीले पुरै उप्काएकाले पीउने पानी तथा आवश्यक सरसफाइको लागि आवश्यक पर्ने पानीको अभाव छ। राहतसँगै आउने पानीको बोटल बाहेकको पानीको प्रबन्ध हुन नसक्दा आवश्यक सरसफाइमा ध्यान पुर्याउन सकिएको छैन। स्कुलको छाना पनि भत्काएकाले स्कुल जाने बालबालिकाको पढाई प्रभावित भएको छ।

भित्र्याउने समयको पर्खाइमा रहेको गहुँबाली हावाहुरीले पूरै चउरमा परिणत गराएको छ। घरभित्र भकारीमा राखेको धान लगायतका खाद्यान्न हुरीले छरपस्ट बनाएको छ। धन सम्पत्ति र लुगाफाटा राखेको दराज, सुत्ने ओच्छ्यान पनि हुरीले उडाएपछि खाद्यान्न तथा लत्ता कपडाको अभाव टटकारो देखिएको छ।

एकै परिवारका ४ सदस्यसम्मको हावाहुरीका कारण मृत्यु भएको छ। परिवारका सदस्य, आफन्त, छिमेकी गुमाएका पुरनिया र भलवलिया गाउबाँसीका आखा ओभानो हुन सकेका छैनन्। उनीहरु न त कसैसँग बोल्न चाहन्छन, नत आइतबार साँझको घटना सम्झन नै चाहन्छ। क्षणभरमा नै विध्वंस मच्चाएको हावाहुरीले उनीहरुका परिवारको सदस्य, आफन्त र छिमेकीको ज्यान लिएको थियो।

अहिले उनीहरु छानो उडाएको र गाह्रोे भत्काएको घरको छेउमा टोलाएर बस्न बाध्य छन्। महिला, बालबालिका र वृद्धवृद्धालाई पुगेसम्म त्रिपालमुनी राखिएको छ भने स्कुल जाने उमेरका स–साना बालबालिका हुरीको वितंण्डाले भत्काएका घरका अवशेष हटाउने तथा अस्थायी टहरा बनाउने काममा सघाइरहेका छन्।

घटना लगत्तै प्रदेश सरकार, विभिन्न राजनीतिक दलका शिर्ष नेता घटनास्थल पुगेर राहतको घोषणा गरेका छन्। तर केन्द्र सरकार तथा प्रदेश सरकारले अस्थायी बसोबाससँगै स्थायी बसोबासका लागि कुनै योजनाको घोषणा गरेका छैनन्। आइतबार साँझ आएको विनासकारी हावाहुरीका कारण २७ जनाको ज्यान गएको थियो। ६ सय भन्दा बढी घाइते भएका छन्। हावाहुरीबाट ठूलो आर्थिक क्षति भएको छ।