Nepali date


बुधबार, भदौ ४, २०७६

नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती

सुर्खेत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।

यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताँै दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गर्नुभयो । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले भन्नुभयो, “टर्मिनल हलमा ठूलाबडाकै हालीमुहाली हुन्छ ।”

यात्रु केन्द्रराज शाहीले विमानस्थलमा सर्वसाधारणले टिकट नै नपाउने गरेको दुखेसो गर्नुभयो । दलालले मात्रभित्र प्रवेश पाउने गरेको आरोप लगाउँदै शाहीले भन्नुभयो, “एयरलायन्स नागरिकप्रति सेवा भाव नै देखाउँदैनन् । उनीहरु आफ्नो नाफाको आँखाबाट मात्र हेर्छन् ।” यात्रु भन्दा कार्गो लिँदा दोब्बर फाइदा हुने भएकाले उनीहरुले यात्रुलाई नलिने गरेको उहाँको आरोप छ ।

हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले यात्रुलाई प्राथमिकतामा राखेर काम गर्न एयरलायन्स सञ्चालकलाई दबाब दिँदै आएको बताउनुभयो । “डेढ महीनादेखि यात्रु जान पाएका छैनन्”, उहाँले भन्नुभयो, “हामीले तारा, सीता र समिट एयरलायन्सका सञ्चालकलाई हप्तामा एक÷एक फ्लाइट राख्न अनुरोध गरेका छौँ ।”

हवाइजहाज यातायातको एकमात्र विकल्प भएको हुम्लामा हरेक सामान उडानबाटै लैजानुपर्ने भएकाले यात्रु आवतजावतमा समस्या भएको अध्यक्ष लामाको भनाइ थियो । विमानस्थलमा प्रहरीले पनि यात्रुप्रति अभद्र व्यवहार गर्दै आएको यात्रुले गुनासो गरेका छन् । विकट भूगोलका नागरिक अलपत्र पर्दा पनि राज्य बेखबर रहेको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् ।

यता तारा एयरलायन्सका नेपालगञ्ज प्रमुख दिलीप कार्कीले हवाइजहाज अभावका कारण यो समस्या आएको राससलाई बताउनुभयो । “जहाजको माग बढ्दो छ तर पूर्ति गर्न गाह्रो छ”, प्रमुख कार्कीले भन्नुभयो, “हप्ताको एउटा कार्गो पनि गर्न सकिएको छैन । लुक्ला खुलेकाले पनि अभाव बढेको हो ।” रासस

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया