शुक्रबार, बैशाख ०७, २०८१

लागुऔषधका ६४ जनामाथि मुद्दा, १०९ जना प्रहरी नियन्त्रणमा

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।

तीव्ररूपमा बढिरहेको बसाइँसराइ, चेतनाको कमी र बेरोजगारीका कारण यस्तो समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरले राससलाई बताउनुभयो । “प्रहरीले लागुऔषधमा सक्रियता बढाउँदा कारोवारी र प्रयोगकर्ता देखिन छाडेका छन्”, उहाँले भन्नुभयो, “गलत धन्दाले ल्याउने परिणाम बुझ्दै गएपछि अहिले मान्छे असल पेशा व्यवसायको खोजी गर्न थालेका छन् ।”

उहाँका अनुसार लागुऔषधअन्तर्गत ब्राउनसुगर ९३ ग्राम ५१० मिलिग्राम, चरेश छ किलो ३०४ ग्राम ७० मिलिग्राम, गाँजा १८१ ग्राम ५०० मिलिग्राम, नाइट्रोजन १५७ बरामद र गत फागुन ११ गते लेकबेँसी नगरपालिका–८ लामीडाँडा सुर्खेतमा एक लाख अवैध अफिमका बोट नष्ट गरिएको छ ।

२९ लाख राजश्व सङ्कलन 

प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा हालसम्म ७७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरेको थियो । त्यसक्रममा ७७ अभियुक्तले ४२ वर्ष तीन महीना १४ दिन कैद, रु २८ लाख ८३ लाख ६०६ जरिवाना तथा कैद दुवै भुक्तान गरेको प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रहरीको अवैध जुवातास रोक्ने अभियानअन्तर्गत चालू आवको फागुनसम्म १२ मुद्दा दर्ता हुँदा ८२ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेबाट रु १२ लाख ९८ हजार ९३३ नगद नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध नदीजन्य पदार्थ ओसारपसार विरुद्धको अभियानअन्तर्गत ७१ सवारीसाधनलाई कारवाही गर्दा स्थानीय सरकारलाई रु दुई लाख ५१ हजार ८८० राजश्व सङ्कलन भएको छ । त्यस्तै, दुई हजार १८६.८८ वर्ग फिट अवैध काठ पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाएको प्रहरीले बताएको छ ।

गुण्डागर्दीमा २०४ लाई कारवाही 

प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत गुण्डागर्दीका १३८ मुद्दा दर्ता गरेको छ । बसपार्कलगायत विभिन्न ठाउँहरुबाट गुण्डागर्दी गर्नेहरु विरुद्ध १३८ मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सो अभियानअन्तर्गत आठ महिला र १९६ पुरुष गरी २०४ लाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

त्यसैगरी, जिप्रका सुर्खेतले अवैध घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत हालसम्म तयारी घरेलु मदिरा पाँच हजार ६३६ लिटर र कच्चा पदार्थ १० हजार २४२ लिटर, घरेलु मदिरा बनाउने औषधि २८७ केजी, भाडासेट ८७ थान नियन्त्रणमा लिएको जनाएको छ । यसरी अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेलाई कारवाही गर्दा रु ६० हजार राजश्व सङ्कलन भएको छ ।

प्रहरीलाई पुरस्कृत 

प्रहरीले सङ्गठनमा काम गर्ने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति उत्साह, उमङ्ग र सक्रियता बढोस् भन्ने हेतुले महीनैपिच्छे पुरस्कृत गर्दै आएको छ ।

जिप्रका सुर्खेतले फागुनसम्म करीब तीन दर्जन प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । प्रहरी सङ्गठनमा उपलब्ध स्रोतसाधन तथा जनशक्तिको उच्चतम सदुपयोगबाट मानवअधिकारको सम्मान, भूगोल, समुदाय र प्रहरीबीच असल सम्बन्ध कायम गर्दै समाजमा शान्ति सुरक्षा तथा अमनचैन कायम गर्न अहम् भूमिका निर्वाह गर्ने उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक वसन्त रजौरे राससलाई बताउनुभयो ।

उहाँका अनुसार फागुन महिनामा उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी नायब निरीक्षक मोहनलाल कुमाई, प्रहरी हवल्दार गणेशबहादुर खत्रीलगायतका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

नागरिक लाभान्वित 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पाँच हजार १८० अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताएको छ ।

समाजमा हुने महिला तथा लैङ्गिक हिंसा, लागुऔषध ओसापसार एवं प्रयोग, बालविवाह, बहुविवाह, छाउपडी प्रथा, ट्राफिक नियमको पालना, साइबर अपराधविरुद्ध कानूनी सचेतना जगाउँदै आएको प्रहरी प्रवक्ता क्षेत्रीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म एक लाख ५० हजार नागरिक लाभान्वित भएका छन् । रासस