बिहिबार, बैशाख ०६, २०८१

सिआइबीको टोलीद्वारा प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन शुरु

लहान। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा आजदेखि छानबिन शुरु गरेको छ ।

प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा आजदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

यता आज जिल्ला परीक्षा समन्वय समिति सप्तरीले पत्रकार सम्मेलन गरी एसईईको कुनै पनि प्रश्नपत्र सप्तरीबाट नबाहिरिएको दाबी गरेको छ । परीक्षाअघि नै सप्तरीबाट प्रश्नपत्र बाहिरिएको हल्ला सुनेपछि प्रहरीले आफ्ना सबै युनिटमा प्रश्नपत्र जाँच गरेको र सबै पोका दुरुस्त फेला परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।