बिहिबार, बैशाख ०६, २०८१

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौ । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।

नेपाल बारको निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको  निर्वाचन समितिका संयोजक दामोदर खडकाले बताउनुभयो । मतदान बिहान ८ बजेबाट सुरु भई अपरान्ह ४ बजेसम्म जारी रहनेछ । बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा सत्तारूढ नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल प्यानलसहित मैदानमा उत्रेका छन् । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानुन व्यवसायीको समर्थन छ ।

तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्नका लागि शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्न बार निर्वाचन समितिले आग्रह गरेको छ । देशभरिमा कुल १० हजार ३ सय १३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८ सय १३ जना सदस्य छन् ।