बिहिबार, बैशाख ०६, २०८१

पर्यटन उद्योगः सम्भावना र अवसरको केन्द्र

काठमाडौँ- ठूला जनसङ्ख्या भएका छिमेकी मुलुक भारत र चीनलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा विज्ञ तथा पर्यटन क्षेत्रका अगुवाले जोड दिएका छन् । दुई मुलुकको बढ्दो पर्यटन बजारबाट नेपालले भरपुर लाभ लिने गरी प्रवद्र्धनात्मक गतिविधि र गन्तव्य विस्तारमा समेत लगानी अभिवृद्धि गरिनुपर्ने उनीहरुको सुझाव छ ।

अनुपम प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता तथा पुरातात्विक सम्पदा र संस्कृतियुक्त नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य रहेकाले पनि यस क्षेत्रका विभिन्न क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा रहेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले प्राकृतिक सौन्दर्य, कला, संस्कृतिसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, पुरातात्विक महत्वका सम्पदा र क्षेत्र पर्यटक आकर्षण गर्ने महत्वपूर्ण आधार रहेको बताउनुभयो । उहाँले राजधानीमा जारी लगानी सम्मेलनमा नेपालको पर्यटन उद्योग सम्भावना र अवसरका विषयलाई जानकारी गराउँदै नेपालले पर्वतीय आर्थिक गतिविधिलाई केन्द्रमा राखेको उल्लेख गर्नुभयो ।

चीन र भारतमा सहज यातायात सञ्जालको विकास र विस्तार भएको उल्लेख गर्दै जोशीले नेपाल आउन चाहने पर्यटकलाई सहज प्रवेशाज्ञाको व्यवस्था तथा क्षेत्रगत रुपमा नै नीति नियमको सुधार गरी समयानुकूल बनाइएको जानकारी दिनुभयो । जोशीले अल्ट्रालाइट, बञ्जीजम्प, प्याराग्लाइडिङ, ¥याफटिङ, जीपलाइनजस्ता क्षेत्रमार्फत् मनोरञ्जन पर्यटनमा समेत जोड दिइएको र बाह्रै महीना पर्यटकीय गतिविधि सञ्चालन गरेका कारण नेपाल नयाँ स्थानमा पुगेको बताउनुभयो ।

सन् १९६० देखि नै नेपाल अन्तर्राष्ट्रिय पर्यटनका लागि आकर्षक गन्तव्यका रुपमा विकास भएको तथ्य पेश गर्दै उहाँले सरकारले आर्थिक समृद्धिका आधारका रुपमा यस क्षेत्रलाई समावेश गरेर उच्च महत्व दिएको उल्लेख गर्नुभयो । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय पनि त्यसैको महत्वपूर्ण कार्यक्रम भएको तथा निजी क्षेत्रले पनि उत्तिकै महत्व दिएको जोशीले प्रष्ट पार्नुभयो । छिमेकी मुलुकलाई लक्ष्य गरी प्रवद्र्धनात्मक गतिविधि र गन्तव्य पहिचान प्रवद्र्धनमा विशेष प्राथमिकता दिइएको कार्यकारी अधिकृत जोशीको भनाइ छ ।

बोर्डका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ बाह्य पर्यटक नेपाल आएका छन् जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशत बढी हो । सन् २०१७ मा दश लाखको हाराहारीमा बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्ष एक लाख ६० हजार २६८ भारतीय पर्यटक नेपाल आएका थिए । सोही अवधिमा चीनबाट क्रमशः एक लाख ५३ हजार ६०२ र एक लाख चार हजार ६६४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

सन् २०१९ को जनवरी र फेब्रुअरीमा दुई लाख १४ भन्दा बढी बाह्य पर्यटक नेपाल आएकामा बढी भारत र चीनका छन् । विश्व पर्यटन सङ्गठनले नेपाल तीव्र गतिमा पर्यटक आगमन हुने देशमा सूचीकृत गरेको तथा अन्तर्राष्ट्रिय चर्चित वेबसाइटले लोन्लीप्लानेट, ट्रीप एडभाइजरलगायतले नेपाल भ्रमणयोग्य गन्तव्यका रुपमा चित्रण गर्दै प्रचारप्रसारसमेत गर्दै आएका छन् । सम्मेलनको तीर्थयात्रा र मनोरञ्जनका लागि पर्यटकीय गन्तव्य विकास शीर्षकअन्तर्गतको छलफल शत्रका सहभागीले नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य मुलुक भएको चर्चा गरे । उनीहरुले भौतिक पूर्वाधारको विकास तथा विस्तारमा जोड दिएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले मुलुकको अर्थतन्त्रलाई गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उपयुक्त अवसर भएको उल्लेख गर्नुभयो । उहाँले सम्मेलनमार्फत् पर्यटन क्षेत्रमा नयाँ सोचका साथ लगानी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्ला वर्षमा निरन्तर बढ्दो पर्यटकको सङ्ख्याले सरकार र निजी क्षेत्रलाई यस क्षेत्रमा लगानी बढाउन र विश्व समुदायको ध्यान केन्द्रित गराउन सफ भएको फुयालले बताउनुभयो । उहाँले पर्यटन विकास प्रवद्र्धनका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्ने बताउनुभयो ।

पर्यटन व्यवसायी सङ्गीता श्रेष्ठले संस्कृति र आतिथ्यतामा अब्बल रहेको नेपाल विश्वका लागि नमूना पर्यटकीय गन्तव्य बन्ने धारणा व्यक्त गर्नुभयो । सिल्भर हेरिटेज ग्रुपका सिइओ माइक बोलसोभरले अथाह पर्यटकीय सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर भएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका जानकार अकिहिको होरीले नेपाल जस्ता प्राकृतिक रुपमा सम्पन्न देशका लागि पर्यटननै समृद्धिको मूल आधार बन्न सक्ने बताउनुभयो ।

रमेश लम्साल/सिवी अधिकारी (रासस)