Nepali date


आइतवार, साउन ५, २०७६

मकवानपुरमा प्रदेश–३ स्तरीय लगानी सम्मेलन हुने

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको दामनमा प्रदेश–३ स्तरीय लगानी सम्मेलन हुने भएको छ ।

आउँदो वैशाख ७ र ८ गते दामनमा सम्मेलन हुने थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । प्रदेश–३ सरकारले ‘दामन घुमफिर वर्ष’ घोषणा गरेकै वर्ष लगानी सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनका लागि आवश्यक व्यवस्थापन थाहा नगरपालिकाले गर्ने प्रमुख विष्टले जानकारी दिनुभयो । सम्मेलनमा प्रदेश–३ सरकार, विभिन्न लगानीकर्ता, प्रवद्र्धकहरु गरी एकसय पचासको सहभागिता रहने जनाइएको छ ।

यसैबीच, लगानी सम्मेलनको अवसरमा दामनमा दुईदिने ‘दामन घुमफिर वर्ष’ विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । पर्यटकहरुलाई आकर्षण र पर्यटकीय क्षेत्र, उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने कार्यक्रम गर्न लागिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत खाना महोत्सव, स्थानीय कला संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछ । कार्यक्रमको तयारी स्वरुप दामनमा हिजो प्रारम्भिक बैठक गरिएको छ । खाना महोत्सवको व्यवस्थापनको विषयमा थाहा नगर उद्योग वाणिज्य संघले योजना बनाउने निर्णय भएको छ ।

बैठकमा दामन र सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले स्वागतद्वार, अतिथि सत्कार तथा स्वागत, पार्किङ व्यवस्थापनलगायको काम गर्ने निर्णय भएको जनाइएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकमा दामन सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका पदाधिकारी, थाहा नगर उद्योग वाणिज्य संघका पदाधिकारी, होटल तथा पर्यटन व्यवसायीहरुको उपस्थिति थियो ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया