शुक्रबार, चैत १६, २०८०

ओखलढुंगाको निशंखेमा खानेपानीको अभाव, पानी पैंचो माग्दै एसईईका विद्यार्थी

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ निशंखेमा खानेपानीको अभाव भएको छ । हिउँद मौसम लागेसँगै खानेपानीको मुहानहरु सुक्न थालेपछि पानीको हाहाकार मच्चिएको हो ।

करिब एकसय ४१ घरधुरीको बसोबास रहेको निशंखे बजारमा सर्वसाधारणलाई खानेपानी जोहो गर्न खोला धाउनुपर्ने बाध्यता छ भने पानीको अभावले एसईई परीक्षा दिनेहरु थप प्रभावित भएका छन् । घरगाउँमा सञ्चालित खानेपानीका मुहानहरु सुक्दै गएपछि निशंखेका नागरिकलाई पानी लिन २ किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता भएको हो ।

पानीको अभावले एसईई परीक्षा दिन डेरा गरि बस्नेहरुलाई थप समस्या भएको छ । डेरामा खाना पकाएर खानुपर्ने विद्यार्थीलाई खाना बनाउने पानी समेत सापटी (पँैचो) माग्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । घरधनीले, आफैं खाना बनाएर खानेहरुका लागि पानीको सुविधा नदिएपछि परीक्षार्थी समस्यामा परेका हुन् । उनीहरुले परीक्षा सकेपछि पानी फिर्ता ल्याइदिने भन्दै पानी सापटी मागेका छन् ।

परीक्षाका लागि चिशंखुगढी गाउँपलिका १ कुईभिरबाट छोरीलाई लिएर निशंखे आउनुभएका गोपाल अधिकारी पानीको समस्याका कारण परीक्षा दिने बालबालिकालाई निकै समस्या भएको बताउनुहुन्छ । एसइईका लागि चार विद्यालयको परीक्षाकेन्द्र रहेको निशंखेमा टाढाका विद्यार्थीहरु डेरा लिएर बसेका छन् ।

यसैपनि पिउने पानीको समस्या भएको ठाउँमा एसईई परीक्षा केन्द्र परेपछि थप समस्या भएको छ । स्थानीय होटल सञ्चालक अर्जुनबहादुर थापा मगर जाँच दिन आएका विद्यार्थीलाई पानीको सुविधा दिन नसकिएको बताउनुहन्छ ।

निशंखेमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सिद्धिचरण नगरपालिकाको वडा नम्बर तीन अँधेरीको छिपछिपे खोलाहँुदै खानेपाने ल्याउने योजना सञ्चालन भएको भएपनि पूरा हुन सकेको छैन । योजना अन्तरगत अहिलेसम्म तीन करोड रुपँैया खर्च भइसकेको छ ।

अर्काे बर्ष भित्र बजारमा खानेपानी पुगिसक्ने वडा अध्यक्ष कृष्णबहादुर कार्कीको भनाइ छ । होटल सञ्चालकहरुले गाडीबाट नै पानी बोकेर उपभोग गर्दै आएका छन् । स्वास्थ्य चौकी, प्रहरी चौकी, कृषि सेवा उपकेन्द्र, अतिरिक्त हुलाक कार्यालय तथा उमा कटवाल क्याम्पस, हिमालय उच्च मावि लगायतका विद्यार्थी र कर्मचारीले पानीको समस्या भोग्दै आएका छन् ।