शुक्रबार, चैत १६, २०८०

आजदेखि लगानी सम्मेलन सुरु, ४० देशका प्रतिनिधि सहभागी

काठमाडौ ।  सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा सुरु भएकोे सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

सम्मेलनमा सहभागी हुन विभिन्न ४० देशका करिब साढे ६ सय बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ । अधिकांश हिजो नै राजधानी आइसकेका छन् । केही आज बिहान आइ पुग्नेछन् । सम्मेलनका लागि निजी क्षेत्रले २७ वटा आयोजनाको प्रस्ताव तयार पारेको छ । मुलुकमा नयाँ संविधान जारी भएपछि दोस्रोपटक लगानी सम्मेलन हुन लागेको हो ।

सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ ।

निजी क्षेत्रले अध्ययन गरी तयार पारेका परियोजनाको सूचीमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म छन् । जलविद्युत् क्षेत्रमा त्रिशूली–गल्छी हाइड्रोपावर, इङवा हाइड्रोपावर, कालीगण्डकी गर्ज, तल्लो वरुणखोला, मध्ये कालीगण्डकी, म्यादीखोला हाइड्रोपावर, नाम्लान खोला हाइड्रोपावर, माथिल्लो चमेलिया जलविद्युत् परियोजना, माथिल्लो बलेफी जलविद्युत् परियोजना, माथिल्लो बलेफी ए जलविद्युत् परियोजना र तारप खोला जलविद्युत् परियोजनालगायत छन् ।

पूर्वाधार क्षेत्रतर्फ जालपादेवी केबुलकार तथा पर्यटन परियोजना, अन्नपूर्ण सिक्लेस केबुलकार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केबुलकार तथा पर्यटन परियोजना, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबुलकार रहेका छन् ।