शनिबार, बैशाख ०८, २०८१

माथिल्लो त्रिशुली थ्री बीको शेयर बाँडफाँट, प्रधानमन्त्रीलाई २० कित्ता

काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख नै पहिलो पटक धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गर्नुभएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओली शेयर बजारमा शेयरधनीको रुपमा प्रवेश गर्नुभएको हो । आज भएको बाँडफाटमा प्रधानमन्त्रीलाई २० कित्ता शेयर परेको छ ।

प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन गर्नुभएको थियो । प्रधानमन्त्रीले आवेदन गरे लगत्तै शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारणलाई शेयर बिक्री गरेको थियो । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत २० कित्ता शेयर परेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतलाई समान २० कित्ता शेयर परेको छ । उक्त कार्यक्रमको पहिलो शेयरमा नै जनताको उल्लेख्य सहभागिता देखिएको छ ।

मुलुकको शेयर बजारमा धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम शुरु गरिएको हो । कार्यकारी प्रमुख, मन्त्री तथा उच्च पदस्थ सरकारी कर्मचारी नै शेयर बजारमा शेयरधनीका रुपमा प्रवेश गरेपछि त्यसले सकारात्मक प्रभाव मात्रै पार्ने छैन, लगानीका लागिसमेत अभिप्रेरित गर्नेछ ।

नेपालमा १५ लाखको हाराहारीमा शेयर लगानीकर्ता रहेका छन् । नेपाल क्लियरिङ हाउसका अनुसार हालसम्म १४ लाख ७१ हजार ६४४ वटा हितग्राही खाता खोलिएका छन् । प्रधानमन्त्री र मन्त्री पुनले ग्लोबल आइएमई क्यापिटलमा शेयर खरीदका लागि नै हितग्राही खाता खोल्नुभएको थियो ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा जलविद्युत् क्षेत्रलाई राखेको सन्दर्भमा आम नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम अगाडि सारिएको हो । स्वदेशी लगानीमा नै ठूला तथा मझौला जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने लक्ष्यका साथ सरकारले ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत् को शेयरधनी’ अभियान सञ्चालन गरेको छ ।

सो अभियानको पहिलो कार्यक्रमको रुपमा त्रिशुली जलविद्युत् कम्पनीले अग्रिम रुपमा साधारण शेयर बिक्री गरेको थियो । यही चैत ७ गतेदेखि ११ गतेसम्म सो कम्पनीको शेयर बिक्री गरिएको थियो । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशतले हुन आउने रु ३७ करोड पाँच लाख बराबरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गरिएको थियो ।

कूल निष्काशनको तीन प्रतिशत शेयर कम्पनीका कर्मचारीका लागि संरक्षण गरिएको छ । अग्रिम शेयर भएकाले शुरुमा आवेदनका साथ प्रति शेयर रु दशका दरले मात्रै उपलब्ध गराए हुने व्यवस्था गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

अग्रिम रुपमा रु तीन करोड ७० लाख ५० हजार मात्र भुक्तानी अग्रिम माग गरिएको हो । उक्त शेयर वापत चुक्ता हुन बाँकी रहने रकम नियमानुसार कम्पनीले पछि माग गर्ने गरी व्यवस्था मिलाइएको छ । माथिल्लो त्रिशुली थ्री बी आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि थप ९० प्रतिशत रकम उपलब्ध गराउनुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले गत फागुन ३० गते शेयर बिक्रीका लागि स्वीकृति दिइएको थियो । कूल एक लाख ५६ हजार ७११ जनाले शेयर आवेदन गरेका एक लाख ५४ हजार ५५९ आवेदन मात्रै सही ठहरिएको थियो । दोहोरो आवेदन तथा अन्य केही प्राविधिक समस्याका कारण ६७ आवेदन भनेपछि खारेज भएको थियो ।

सो कम्पनीको शेयरमा रु ६६ करोड ९० लाख ९९ हजार २०० बराबरको आवेदन परेको थियो । कूल एक लाख ५६ हजार ७११ आवेदकले छ करोड ६९ लाख नौ हजार ९२० कित्ता आवेदन गरेका थिए । त्यसमध्ये केही आवेदन प्रक्रिया नमिलेका कारण रद्द भएको थियो ।

कूल रकमका आधारमा करीब दुई गुणा बढी र शेयर सङ्ख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको थियो । आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रु १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । अग्रिम रूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।

मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशुली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशुली थ्री बी आयोजना छनोट गरिएको हो । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत शुरु भइसकेको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ ।

शेयर बाँडफाँड समारोहमा मन्त्री पुनले प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी र आम लगानीकर्ताको समेत लगानी परेका कारण आयोजनाको काम निर्धारित समय अगावै सकिनुपर्ने बताउनुभयो । “आयोजनामा सबैको चासो बढेको छ । शेयर लगानीकर्ताले समेत असाध्यै उत्साहका साथ सहभागिता जनाउनुभयो”, मन्त्री पुनले भन्नुभयो, “आयोजना एक दिन पनि ढिलो हुनुहुन्न । तोकिएको समय भन्दा अगावै कसरी सम्पन्न गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” मन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिरकण, निर्माणकर्ता कम्पनी, निर्माण व्यवसायी तथा स्थानीयवासीले समेत आयोजनालाई भरमग्दूर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

अन्य आयोजनाको पनि धमाधम शेयर

मन्त्री पुनले जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत भएका अन्य आयोजनाको पनि अग्रिम रुपमा धमाधम शेयर बिक्री शुरु हुने जानकारी दिनुभयो । मन्त्रालयले तयार पारेको सूचीअनुसार दोस्रो चरणमा तामाकोशी पाँचौ जलविद्युत् आयोजनाको शेयर बिक्री हुने छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजना निर्माणमा जाने तयारीमा रहेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्केको पानीलाई सदुपयोग गरेर सिंगटी बजार नजिकै विद्युत् गृह बनाइ कूल १०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि प्राधिरकणले कम्पनीसमेत स्थापना गरिसकेको छ ।

यस्तै तेस्रो चरणमा भेरी–बबई डाइभर्सन आयोजनाको शेयर बिक्री गरिनेछ । बहुउद्देश्यिय आयोजनाको रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखमा सुरुङ निर्माण सकिनेछ । टनेल बोरिङ मेशिनको प्रयोग गरेर २०७४ को कात्तिकदेखि खन्न थालिएको सुरुङ निर्माण सम्पन्न हुन लागेको हो ।

कूल १२ दशमलव एक किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि बाँधस्थल तथा विद्युत् गृह निर्माणको काम शुरु हुने छ । ठेक्काका लागि आवश्यक कागजात तयारी अन्तिम चरणमा पुगेको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन हुनेछ । यस्तै ऊर्जा मन्त्री पुनका अनुसार जगदुल्ला, फूकोट कर्णाली, घुन्सा खोला, शिम्वुवा खोला तथा माथिल्लो अरुण जस्ता आयोजनाको समेत क्रमैसँग शेयर बिक्री गरिनेछ । –रमेश लम्साल/रासस