शुक्रबार, बैशाख ०७, २०८१

गृह मन्त्रालयको निर्देशन लत्याउँदै प्रशासकीय अधिकृत नगरप्रहरी लिएर परीक्षा हलमा

रौतहट । रौतहटको गौर नगरपालिकाले प्रहरी निषेध परीक्षा हल बनाउन गृह मन्त्रालयले जारी गरेको निर्देशन अटेर गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले जारी एसईई परीक्षामा मनत्रालयको निर्देशन लत्याउँदै आफूखुशी गरेका हुन् । परीक्षा कोठा भित्र चेकजाँचको बहानामा हुने प्रहरी परिचालनले विद्यार्थीहरुमा मानसिक बिचलन हुने र परीक्षामा राम्रो गर्न नसक्ने भन्दै गृह मन्त्रालय तथा शिक्षा विभागले यसो नगर्न निर्देशन दिएको थियो ।

तर प्रशासकीय अधिकृत कार्कीले आफूखुशी नगर प्रहरी परिचालन गरेको पाइएको छ । हिजो भएको अनिवार्य गणित विषयको परीक्षामा गौर नगरक्षेत्रभित्र रहेका विभिन्न परीक्षा केन्द्रमा कार्की तामझामका साथ नगर प्रहरीसहित पुगेका थिए ।

परीक्षा सुरु हुनुपूर्व गेटमै विद्यार्थीलाई चेकजाँच गरेर पठाइए पनि कार्कीले परीक्षाहलभित्र पुनः नगर प्रहरी परिचालन गरी खानतलासी गर्न लगाएका छन् । यसरी खानतलासी गर्दा आधा घण्टाभन्दा बढी समय खेर गएको विधार्थीहरुले गुनासो गरेका छन् ।

पढाई हुने समयमा कक्षाकोठामा कहिल्यै अनुगमन गर्न नपुगेका प्रशासकिय अधिकृत कार्की परीक्षामा भने नगर प्रहरी लिएर पुगेका हुन् । नगर प्रहरी स्थानीय सरकारको प्रहरी भएकाले प्रमुख जिल्ला अधिकारीसँग स्वीकृति लिएर गएको कार्कीको दाबी छ ।