बुधबार, बैशाख १६, २०८३

सिटामोल छ स्वास्थ्यकर्मी छैनन्, सिटामोल लिन जिल्ला अस्पताल पुग्दै बिरामी

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका रिपमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या भएको छ ।

सडक सञ्जालले नजोडिएको जिल्लाका नागरिक एक दिनको पैदल हिडेर बिरामी बोकेर जिल्ला अस्पताल सिमकोटमा ल्याउनुपर्ने बाध्यतामा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ का स्थानीय सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हुँदा पनि राया स्वास्थ्यचौकीमा उपचार नभएपछि बिरामी बोकेर  जिल्ला अस्पताल धाउनुपर्ने बाध्यतामा छन् ।

उपचारका लागि नजिकै रहेको राया स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानीय मानबहादुर परियारले गुनासो गर्नुभयो । आफूले सिमकोटमा रहेको फार्मेसीबाट सुई किनेर लगेको र खोप लगाउने स्वास्थ्यकर्मी समेत नपाएको उहाँको गुनासो छ ।

रायाँ स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुले जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ । राया स्वास्थ्यचौकीमा चारजनाको दरबन्दी छ । एकजना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी । तर स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारविनै फर्कनुपर्ने बाध्यतामा छन् ।

यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । महिला स्वास्थ्यकमी नहुँदा गर्भवती भएका महिलाहरुलाई चेकजाँच गराउन समस्या भएको सिमकोट गाउँकार्यपालिका विनोद विकले बताउनुभयो । दुई जना अनमिको दरबन्दी रहेता पनि तालिम भन्दै नेपागञ्ज सुर्खेत झरेकाले समस्या भएको सदस्य विकले बताउनुभयो ।