टोकियो । आगामी जुलाईबाट जापानमा अनलाइनबाटै पनि भिसाको नवीकरणसम्बन्धी आवेदन लिईने न्याय मन्त्रालयले जानकारी दिएको छ ।
यसले, भिसासँग सम्बन्धित प्रकृयालाई केही सहज बनाउने छ ।यद्यपि, अनलाइन आवेदन प्रणाली विदेशी नागरिक आफैंले नभई उनीहरु काम गर्ने संस्था वा एजेण्टका अधिकारीहरुको प्रयोगका लागि मात्रै उपलब्ध रहने बताइएको छ । अनलाइनबाट विदेशी नागरिकको जापान बसाइको अवधि लम्ब्याउन र अस्थायि रुपमा जापान छोडेकालाई पुनः प्रवेशको अनुमति दिलाउन पनि प्रयोग गर्न सकिनेछ ।
यसैक्रममा अनलाइन सेवा भिसा स्टेटसमा उल्लेख गरिएको भन्दा बाहेकका गतिविधिमा संलग्न हुने अनुमति पाउन पनि प्रयोग गर्न सकिनेछ । जापानले श्रमिक अभावसँग जुझ्न बढी भन्दा बढी विदेशी कामदारलाई जापान ल्याउने प्रयास गरिरहेकाबीच यस्तो घोषणा बाहिरिएको हो ।
सुरुवाती चरणमा मन्त्रालयले उच्च कौशल भएका कर्मचारी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र सरकारी प्रायोजन अन्तर्गतको प्राविधिक प्रशिक्षण कार्यक्रममा सहभागि हुने इन्टर्नका आवेदन अनलाइनबाट स्विकार गर्ने भएको छ । यद्यपि कूटनीतिज्ञ, छोटो समयका लागि जापान भ्रमणमा आउनेहरु र अप्रिल १ देखि लागू हुने नयाँ भिसा प्रणालीमा पर्नेहरुले भने अनलाइनबाट यो आवेदन दिन पाउँदैनन् ।
विगत पाँच वर्षमा श्रम वा अध्यागमन कानून उल्लङ्घन नगरेर विदेशी कामदार भित्रयाएका रोजगारदाताले यो अनुमति पाउने छन् । साथै ती संस्थाले विगत तीन वर्षमा जापानको कानूनी र नियमको पालना गरी आफूले विदेशी नागरिक ल्याउनेगरेको प्रमाण पनि प्रस्तुत गर्नुपर्ने छ ।

