शनिबार, बैशाख ०८, २०८१

क्षयरोगीको सङ्ख्या निर्मूल पार्ने सरकारको लक्ष्यमै चुनौती

काठमाडौ । माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिस नामक जीवाणुुबाट लाग्ने क्षयरोगका कारण नेपालमा हरेक बर्ष ४५ हजार नयाँ बिरामी थपिँदै गएका छन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार घर घरमा गएर बिरामी खोज्ने नीति नहुँदा नेपालमा कति क्षयरोगी छन् भन्ने यकिन तथ्याङ्क नभएपनि वर्षेनी क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका निर्देशक डा.भिमसिंह तिन्करीले मातृसन्देश डटकमसँग कुराकानी गर्दै नेपालमा प्रत्येक एक लाखमा १ सय ५८ जनामा यो रोग देखिने गरेको बताउनुभयो ।

सरकारले सन् २०३० सम्ममा प्रति एक लाखमा २० जनामा यो रोग झार्ने लक्ष्य लिएपनि त्यो पुरा हुनमा चुनौती देखिएको निर्देशक डा.तिन्करीको भनाई छ ।

उहाँका अनुसार सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरेको र पछि पुर्नस्थापना गरेपनि हाल संघीय संरचना अनुसार तथ्याङ्क संकलन हुन सकेको छैन ।

डा.तिन्करीले सरकारले चेतना मुलक कार्यक्रम सञ्चालन गरेपनि क्षयरोगी पत्ता लगाउन घरदैलोमा जाने कार्यक्रम नहुँदा पनि तथ्याङ्क संकलनमा समस्या हुँदा उपचार र सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो ।

नेपालमा एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ४ हजार तीन सय २३ उपचार केन्द्रबाट डट्स उपचार सेवा ६ हजार चार प्रयोगशाला, ५६ जीन एक्सपर्ट केन्द्र र दुइवटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गर्दै आएको छ ।