काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबिच एकता प्रक्रिया अघि बढेको छ ।
एकताका लागि दुवै पार्टीबिच औपचारिक पत्र आदान–प्रदान भइसकेको छ । दुवै पार्टीले ‘एकता वार्ता समिति’ समेत गठन गरेका छन् ।
संघीय फोरमले सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा र राजपाले राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेका हुन् ।
सुरुवातमा संघीय फोरमले एकता गर्नका लागि पत्र पठाएपछि राजपाले गत फागुन ३० गते आफूहरु एकता गर्न तयार रहेको तर संघीय फोरम हाल सरकारमा रहेकाले अप्ठेरो परेको आशयको जवाफ पठाएको थियो ।
राजपका सांसद रेशम चौधरीलाई सरकारकै इसारा अनुसार जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य दोषी भन्दै आजिवन कैदको सजाय सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संघीय फोरमले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक तहबाटै समाधान गर्नुपर्ने बताएको थियो । पछिल्लो समय संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले चैत ६ गते राजपालाई एकताका लागि पुनः पत्र पठाएका छन् । जसमा उनले अहिले आप्mनो पार्टी सरकारमा रहनु र नरहनुले पार्टी एकतामा बाधा वा अवरोध हुन नहुने उल्लेख गरेका छन् । उनले एकीकृत पार्टी भइसकेपछि सरकारमा बस्ने कि नबस्ने भन्ने विषय एकीकृत पार्टीबाटै निर्णय हुने बताएका छन् ।
‘हामीमध्ये कोही सरकारमा र कोही प्रतिपक्षमा भएकै कारणले पार्टी एकीकरण जस्तो महत्वपूर्ण कार्यमा बाँधा अवरोध हुनुहुँदैन,’ उपप्रधान एवम् स्वास्थ्यमन्त्री समेत रहेका यादवले उल्लेख गरेका छन्, ‘हाम्रा दुई पार्टीहरु एकीकरण हुनासाथ सरकार वा विपक्षमा कहा रहेर के कार्य गर्ने र कस्तो भूमिका खेल्ने हो एकीकरणपछि बनेको एकीकृत पार्टीले सो सम्बन्धमा निर्णय गरेअनुसार नै हुने गरी पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ ।

