बाजुरा । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । हिजोबाट यातायात सञ्चालनमा आएसँगै जिल्लाका चारवटा स्थानीय तह सडक सञ्जालसंग जोडिएका छन् ।
कर्णाली करीडोर अन्तर्गत बाजुरा खण्ड लैफू देखी बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका सडक सञ्जालमा जोडिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।
त्यस्तै छिमेकी जिल्ला कालिकोट र मुगका स्थानीयलाई समेत सहज भएको प्र.जि.अ बरालले बताउनुभयो । सडक सञ्चालन भएसँगै बाजुराको सबैभन्दा दुर्गम हिमाली गाँउपालिकासम्म यातायातको पहुँच पुगेको छ, जसले गर्दा त्यसक्षेत्रका नागरिकलाई आवातजावतमा सजिलो भएको छ ।
जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलको आग्रहमा सडक सञ्चालनमा ल्याईएको कर्णाली करीडोरको तिथि चौर क्याम्पका उप सेनानी शंकर सिलवाले जानकारी दिनुभयो । नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा रहेको छ ।

