बिहिबार, बैशाख १३, २०८१

त्रिशूली ३ बि को शेयर आवेदन सर्वसाधारणको लागि पनि खुल्ला

काठमाडौं । सरकारले ३७ मेगावाट क्षमताको त्रिशूली ३ बि को शेयर आवेदन सर्वसाधारणको लागि पनि खुल्ला गरेको छ ।

हिजोबाट सर्वसाधारणको लागि पनि शेयर आवेदन खुलेको हो । शेयरका लागि प्रधानमन्त्री ओलीले पहिलो आवेदन दिनुभएको छ । गएको फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम घोषणा गरे अनुसार नै प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर लिन पहिलो आवेदन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशूली थ्री ‘बी’ १० हजार कित्ता साधारण सेयर (आईपीओ) का लागि आवेदन दिएसँगै उहाँका श्रीमती राधिका शाक्यले पनि १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको छ । उर्जा, जलस्रोत, तथा सिंचाई मन्त्री वर्षमान पुनले एकहजार कित्ता र उहाँका श्रीमती एवम् पुर्व सभामुख ओनसी घर्तीले २ हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको छ ।

अब भने सर्वसाधारणका लागि समेत शेयरका लागि आवेदन खुल्ला भएको छ । नेपाली नागरिकको लगानीमा नै तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरू गरिएको छ । त्रिशूली जलविद्युत् कम्पनीका अनुसार, पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ ।

कम्पनीको जारी पुँजी दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् ३७ करोड पाँच लाख बराबरको एकसय अंकित दरको ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको जलविद्युत कम्पनी लिमिटेडका कम्पनी प्रवन्ध सञ्चालक मोहन गौतमले बताउनुभयो ।

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री ‘बी’ ले निस्कासन गरेको हो । गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।