पर्वत । कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि गण्डकी प्रदेशका जिल्लामा भित्रिन नदिन विशेष सतर्कता अपनाइएको छ ।
नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन् । डिमुवामा चिकित्सक र प्रहरीको एक यूनिट चौबिसै घण्टा खटिएको छ । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा मोदी गाउँपालिकाको नाका डिमुवाबाट रोग ग्रस्त कुखुरा भित्रिन नदिन टोली खटिएको भेटनरी अस्पताल बागलुङका पशु चिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँले अवैध कुखुरा भित्रिने आशंकाले सबै सवारीसाधानहरुमा नियमित चेकजाँच गर्न थालिएको छ । यसैबीच हिजो चेकजाँचका क्रममा अवैध कुखुरा र कुखुराका चल्ला नियन्त्रणमा लिइएको छ । म्याग्दी र मुस्ताङ ल्याउने क्रममा डिमुवामा कुखुरा र चल्ला वरामद गरिएको हो ।
डिमुवा नाकामा चेकजाँचका क्रममा भेटनरी जाँच नभएको र विल भर्पाई बिना ओसारपोसार गरिरहेको पाईएपछि लेयर्स कुखुरा ६ सय ८० वटा, वोईलर कुखुराका चल्ला ४ सय ५० वटा र तयारी मासु १० किलो समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले नियन्त्रणमा लिईएका कुखुरा र मासु चितवन र काठमाण्डौबाट ल्याइएका कारण उतै पठाएको छ ।

