बिहिबार, बैशाख १७, २०८३

परराष्ट्रमन्त्री ज्ञवाली अर्जेन्टिना जाँदै

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अर्जेन्टिना जान लाग्नु भएको छ ।

अर्जेन्टिनाको राजधानी व्यूनसआयर्समा आयोजना हुन लागेको दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार चैत ६ देखि ८ गतेसम्म आयोजना हुने सम्मेलनमा मन्त्री ज्ञवालीले ‘दिगो विकासका चुनौती र अवसर’ विषयमा मन्तव्य दिनुहुने कार्यक्रम छ ।

त्यसैगरी, अर्जेन्टिनाका विदेशमन्त्रीद्वारा चैत ७ गते आयोजना गरिने एशियाली मुलुकका अधिकारीसँगको उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवालीको सहभागी हुने कार्यक्रम छ । अर्जेन्टिनामा रहँदा उहाँले विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ ।

सम्मेलनमा मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारीको समेत सहभागिता रहने छ । चैत ९ गते उहाँ स्वदेश फर्कनु हुने छ ।