बिहिबार, बैशाख १०, २०८३

कराँतेमा नेपालले जित्यो ऐतिहासिक २ पदक,एनआरएनए अध्यक्ष भट्टवाट भब्य सम्मान

टोकियो । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले जापानमा ऐतिहासिक पदक जितेको छ ।

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।

यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएर पदक पक्का गरेका थिए ।
६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन् । उनले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोष्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराएर पदक जितेका हुन ।

त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए। यस्तै क्वार्टफाइनलमा हङकङका खेलाडीसँग २–२ को अंक बराबरी भए पनि विजयले सेन्सु विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनलमा भने उनी काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भएका थिए ।
नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो । यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो । यसअघि व्यक्तिगत कातामा नेपालका परशुराम बास्तोला क्वार्टरफाइनलमा मेक्सिकोका खेलाडीसँग ४–१ ले पराजित भएका थिए । यस्तै गणेशबहादुर थिङ पनि सफल हुन सकेनन् । ६७ केजी तौलमा नेपालका अनिस लामा पहिलो खेलमै पराजित भएका थिए ।

नेपाली टिमको प्रशिक्षकमा सागका स्वर्ण विजेता कुशल श्रेष्ठ तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिग्रेड्सको रुपमा जापान आउनु भएको थियो ।
जापानमा भएको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई एनआरएनए आईसीसी र जापान च्याप्टरले सहयोग र सम्मान गरेका छन्। प्रतियोगितामा ३९ देशका करिब १ हजार २ सय खेलाडीले भाग लिएका छन ।

सितोरियो विश्व च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए । उनले भाग लिएका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।भाग लिएका ५ खेलाडी मध्ये २ जनाले मेडल जित्नु उत्कृष्ट नतिजा भएको भन्दै खुशी ब्यक्त गर्नु भएको छ ।