बिहिबार, बैशाख १७, २०८३

कर्णालीको समृद्धिको आधार, जलविद्युत्, जडिबुटि र पर्यटन

काठमाडौं । कला–संस्कृति,सभ्यता र प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि कर्णालीको परिचय गरिब,  अशिक्षित, अभाव अनि विकटको रूपमा छ । परम्परागत परिचय बदल्नका लागि कर्णालीसँग सम्भावना भने प्रसस्तै छ ।

भएका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने भनेको पर्यटनबाट हो । मुगुको रारा, डोल्पाको शे–फोक्सुुण्डो तालदेखि जुम्लाको सिंजा,चन्दननाथ, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डेदह, सुर्खेतको काक्रेबिहार लगायतका दर्जनौँ पर्यटकीय क्षेत्र यहाँ छन् ।

पर्यटनको विकासका लागि करिब एक वर्षअघि ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ पनि घोषणा गरियो । कर्णालीमा वार्षिक ५ लाख पर्यटक ल्याउने प्रदेश सरकारको लक्ष्य छ । यसका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्ने पर्यटन व्यवसायि समुन्द्र गौतम बताउनुहुन्छ ।

जल र जडिबुटीबाट पनि कर्णालीबासीको अभाव टारेर सुख र समृद्धि ल्याउन सकिन्छ । झन्डै साढे सात सय प्रजातिको जडिबुटी यहाँ पाइन्छन् भने करिब २५ हजार मेगावाट क्षमताको बिजुली उत्पादनको संभावना छ । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश अधिकारी कर्णालीमा पाइने जडिबुटिको अध्ययन र प्रशोधनतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुहुन्छ । कर्णालीमा करिब १७ लाख जनसंख्या छ । प्रदेशको ठूलो हिस्सा हिमाली क्षेत्रले ओगटेको छ ।

सबैभन्दा कम मानव विकास सूचक र न्यून साक्षरता दर अनि औसत आयू पनि सबैभन्दा कम छ । गाउँमै रोजगारी र शिक्षालाई प्रविधिमैत्री बनाउनन तर्फ पनि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ, प्राध्यापक गोविन्द कोइराला । गाउँघरका दुःखसुखमा साथ दिन र आँगन मै सिंहदरवारको सुविधा दिने परिकल्पना अनुसार स्थानीय र प्रदेश सरकार बने ।

बितेको एक वर्षमा प्रदेश सरकारले समृद्ध कर्णालीका लागि के ग¥यो ? यो प्रश्नमा कर्णाली प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले भन्नुभयो, ‘हामीले रारा कर्णाली भ्रमण वर्ष घोषणा गरेर काम गरिरहेका छौं, कच्चा जडिबुटि निर्यात रोकेर प्रशोधन केन्द्र स्थापनाका लागि यसै आर्थिक वर्षमा बजेट छुट्याएर काम भइरहेको छ ।’

सातै प्रदेशमध्ये सबैभन्दा पहिले राजधानी तोक्न र नामाकरणको विषय टुंगो लगाउन कर्णाली प्रदेश सफल भयो । प्राकृति स्रोतसाधनका हिसाबबाट कर्णाली संभावनाले भरिपूर्ण भए पनि योजना र बजेटका दृष्टिले यहाँका नागरिकले अझैँ पनि अभाव व्यहोर्दै आएका छन् ।