शुक्रबार, चैत १६, २०८०

रामेछाप बेतालीका एक युवाको अवस्था सात दिनदेखि अज्ञात

रामेछाप । रामेछाप बेतालीका नेकपाका स्थानीय युवा नेता बाबुराम बस्नेत ७ दिनदेखि बेपत्ता भएका छन । गाउंमै एक विवाह पार्टीमा सहभागी हुन गएका बस्नेत ७ दिनदेखि बेपत्ता भएपपछि परिवारमा रुवाबासी चलिरहेको छ ।

२५ गते बेतालीकै राजकुमार भुजेलको घरबाट विवाह पार्टीमा सहभागी हुन गएको दिनदेखि बस्नेत बेपत्ता भएपछि फरक आशङ्का समेत गरिएको छ । उनी भुजेलको घरबाट नै सम्पर्कविहीन भएको दाबी गर्दै परिवारले केही शंकास्पद व्यक्तिहरुविरुद्ध किटानी जाहेरी समेत दिएका छन् । तर  प्रहरीमा उजुरी गरेको ७ दिनसम्म पनि बस्नेतको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवार र आफन्तहरुले प्रहरीको अनुसन्धान फितलो भएको गुनासो गरेका छन । ७ दिनसम्म पनि आफ्ना भाइको अवस्था अज्ञात भएकोप्रति दुख ब्यक्त गर्दै बस्नेतका दाइ विशाल बस्नेतले सत्यतथ्य अबिलम्ब बाहिर ल्याउन माग गरेका छन ।

गाउँ तथा समाजमा लोकप्रिय  छवि बनाएका बस्नेत एक्कासी भुजेलको घरबाट बेपत्ता भएपछि स्थानीयले समेत प्रहरीको फितलो अनुसन्धानप्रति आपत्ति जनाएका छन् ।

किटानी जाहेरी गरेका ब्यक्तिहरुसमेत प्रहरीको अनुसन्धानमा नपर्नुले घटना रहस्यमय भएको बताइएको छ । प्रहरीले नयाँ कानुनअनुसार शंकास्पद व्यक्तिहरुलार्इ प्रमाण नभेटिएसम्म  नियन्त्रणमा लिन नमिल्ने भन्दै घटनालार्इ टालटुल गर्न खोजेको समेत आरोप लगाइएको छ ।

भुजेलको घरमा नाच्ने समयमा बेतालीकै केही स्थानीयहरुसँग बस्नेतको  विवाद भएको बुझिएको छ । विवादले ठुलै रुप लिएपछि बाबुराम आफ्नै माछा फार्मतर्फ आएको एकजना प्रत्यक्षदर्शीले बताए ।

उनको माछा फार्म भुजेलको घर नजिककै रहेको छ । विवादमा संलग्न विपक्षीहरु उनलाई पछ्याउँदै माछा फार्मसम्म आएर फेरि झगडा गरेको हुन सक्ने आशंङका स्थानीयले गरेका छन् ।