शनिबार, बैशाख ०८, २०८१

‘मिर्गौला दान गर्नुस्’ पुन्य कमाउनुस्

लमही । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले मृर्गौला दान गर्न अनुरोध गर्नुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो मृत्युपछि पनि आफन्तको ज्यान बचाउन सकिने भन्दै मृत्युपछि मिर्गौला दान गर्ने प्रतिबद्धता जनाउन अनुरोध गर्नुभयो ।

“सबैभन्दा पहिला मानिसको मस्तिष्कको मृत्यु हुन्छ, मिर्गौला, मुटु, फोक्सो, कलेजोले मस्तिष्कको मृत्युपछि विस्तारै काम गर्न छाड्छन्, यस्तो अवस्थामा फोक्सोको काम भेन्टिलेटरद्वारा कृत्रिम रूपमा चलाइन्छ”, उहाँले भन्नुभयो, “मुटुको चाल पनि केही समयलाई चलाउन मिल्छ । यही समयमा कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत विभिन्न अङ्ग दान गराएर प्रत्यारोपण गर्न मिल्छ ।”

एक जनाको मिर्गौलाले दुई जनाले नयाँ जीवन पाउने उल्लेख गर्दै उहाँले दान गरेको मिर्गौलाले परिवारका अन्य सदस्यले नयाँ जीवन पाउने भन्दै यो विषय सबैले बुझ्न जरुरी रहेको बताउनुभयो ।

यसअघि मृत्युपश्चात आँखा दान दिने व्यवस्था भए पनि २०६७ साउनदेखि मिर्गाैला दानको अभियान शुरु भएको हो । अङ्ग दानसम्बन्धी जनचेतनाको अभावले मृत्युपछि मिर्गाैला दान गर्नेको सङ्ख्या विकसित मुलुकमा जस्तै उल्लेख्य हुन नसकेको भन्दै आफ्नो मृत्युपछि पनि मिर्गौला दान गरे परिवारका अन्य सदस्यले नयाँ जीवन पाउने कुरा बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो । “मरणोपरान्त अङ्ग दान दिने प्रक्रियाले समाज, व्यक्तिसहित देशलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “मृत्युपछि अङ्ग जलाइन्छ भने किन त्यो अङ्गको भलाइ नगर्ने ?”

आफू नरहे पनि आफ्नो नष्ट हुने अङ्गले अरूको ज्यान बचाउँदा जस्तो पुण्य, भलाइ र समाजसेवा केहीबाट नहुने उहाँको तर्क थियो । उहाँका अनुसार फोक्सो, मिर्गौला, मुटु, कलेजो, प्याङ्क्रियाज र सानो आन्द्रा प्रत्यारोपण हुनसक्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालेको मिर्गाैला २४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने उहाँको भनाइ थियो ।

मिर्गाैला दान दिन चाहनेले “मरेपछि मेरो मिर्गाैला दान गर्छु” भनेर मृत्युअघि नै मञ्जुरीनामा दिएको हुनुपर्छ । सरकारले यसका लागि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र मिर्गाैला प्रत्यारोपण युनिट वीर अस्पताललाई जिम्मेवारी दिएको छ । उहाँका अनुसार मस्तिष्क मृत्युपछि मिर्गाैला दान गरेर प्रत्यारोपणका लागि आवश्यक भौतिक पूर्वाधार एचएलए ल्याब पनि नेपालमै व्यवस्था छ । नेपालको कानूनअनुुसार अहिले मिर्गाैला काम नलाग्ने भएका व्यक्तिको नजिकको नातेदारले मात्रै अङ्ग दान दिन पाउँछन् । अहिले नसर्ने खालका रोग वृद्घि भएकाले मृगौलालगायत अङ्ग बिग्रिनेको सङ्ख्या बढिरहेको उहाँको भनाइ थियो ।

‘हाम्रो बानीले बिग्रिन्छ मिर्गौला’ 

आफ्नै आनीबानीले गर्दा नै मिर्गौला बिग्रिने गरेको उहाँले बताउनुभयो । “हामीले जन्मिँदा स्वस्थ मिर्गौला ल्याएर जन्मे पनि हाम्रो खानपिनले बिगार्ने गरेका छौँ ।” अहिले घरमा बनेको खानेकुरा भन्दा पनि ‘जङ्क फुड’ खाने बानीले हाम्रो मिर्गौलामा खराबी आउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै पछिल्लो समय नहिँड्ने बानीले पनि मिर्गौलालाई खराबी गरिरहेको उहाँको भनाइ छ । दैनिक १० हजार पाइला अर्थात् सात किलोमिटर हिँड्नुपर्ने उहाँले बताउनुभयो । साथै अहिले नेपालको जनसङ्ख्यामध्ये करीब १० प्रतिशत व्यक्ति मिर्गौला रोगपीडित भएको भन्दै उहाँले समयसमयमा मिर्गौला जाँच गराउन अनुरोध गर्नुभयो ।

डा काफ्लेले पछिल्लो समय मिर्गौला बिग्रिसकेपछि मात्रै उपचार गर्न आउने गरेको भन्दै यही कारणले धेरैले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो । रासस