काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु जागरुप हुनुपर्ने बताउनुभएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय,उद्यमी,व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुनेगरी काम गर्न स्मरण गराउनु भएको छ ।
“उद्यमी व्यवसायीहरुले उपभोक्ता अधिकारको संरक्षण सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनु पर्ने खाँचो छ ।”
संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकार सम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
आज विश्व उपभोक्ता अधिकार दिवस, हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
आज विश्वभरी नै उपभोक्ता अधिकारका विभिन्न विषयमा छलफल हुनेगर्छ । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पहिलो पटक उपभोक्ता अधिकारका अवधारणा ल्याउनुभएको थियो । यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
“गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सवैको अधिकार” मूल नाराका साथ आज ३७ औं विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागिएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज दिउँसो साढे २ बजे बानेश्वरमा कार्यक्रम गर्दैछ । मौलिक हक र उपभोक्ता संरक्षण ऐन कानुन कार्यन्वयनको अवस्था विषयको कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल पनि सहभागी हुनुहनेछ ।
आज देशैभरी उपभोक्ताको अधिकार, बनेका कानुन र सचेतताका विषयमा छलफल हुँदैछ । उपभोक्ता अधिकार दिवस मनाइँ रहँदा उपभोक्ता सबैभन्दा बढि ठगीमा पर्ने गरेको पाइएको छ ।

