सप्तरी । सप्तरीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ मा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक ३५ वर्षिय रामे पासवान र सोही ठाउँका ५० वर्षिय मो.मजलुमको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरको रामपुर ठोक्सिलाबाट तिर्थ यात्री लिएर जनकपुरको लागि हिँडेको को.१ ख.४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को.३४ प.६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बसमा ३५ जना यात्रु रहेका र १० जना घाइते भएका प्रहरीको भनाइ छ । घाइते हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ७८ वर्षिय गोविन्दबहादुर बस्नेत, सोही ठाउँका ७७ वर्षिय बलबहादुर विष्ट, ७५ वर्षिया दिल कुमारी पोखरेल, ९६ वर्षिया वुद्धीमाया वि.क रहेका छन् । ७५ वर्षिया जगमाया खड्का, ७२ वर्षिय रत्नबहादुर कार्की, ७५ वर्षका छत्रबहादुर कार्की, ७५ वर्षकै पदमबहादुर विष्ट, ७५ वर्षिया वालिका वस्नेत र ६५ वर्षिया सुमित्रा श्रेष्ठ घाइते हुनुभएको हो । घाइतेहरुको सप्तरिषी सेवा अस्पताल लहानमा उपचार भईरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, सप्तरीको खडक नगरपालिका ५ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.१ ज.६६६७ को विङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गाडीको ढोका अचानक खुस्किएपछि गाडीमा सवार सुरुङ्गा नगरपालिका वडा नम्वर–११ का ३५ वर्षिया कल्पना चौधरी घाइते हुनुभएको थियो । उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

