मङ्गलबार, बैशाख ०४, २०८१

खेलकूदसम्बन्धी विधेयक प्रस्तुत

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभाको आजको बैठकमा खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो विधेयक प्रस्तुत गर्नुभएको हो ।

सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री बरालले सङ्घीय सरकारले नीतिनिर्माणमा ढिलाइ गरेकाले विधेयक आउन ढिलाइ भएको बताउनुभयो । सो प्रस्तावमाथि सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले खेलकूद विधेयक आउन ढिलाइ भएको विषय स्पष्ट गर्न आग्रह गर्नुभयो भने कमलादेवी विकले अनुशासित र प्रतिस्पर्धी खेलाडी तयार गर्न खेलकूद विधेयक आवश्यक भएकामा जोड दिनुभयो ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्र्न बनेको प्रतिवेदनसहितको विधेयक बैठकमा पेश गर्नुभयो ।

यसअघि बैठकको विशेष समयमा सदस्यहरुले सरकार र सिके रावतसँग भएको सहमतिको पक्ष–विपक्षमा आ–आफ्नो धारणा राख्नुभयो । सदस्यहरुले जनजीविकाका अन्य विषयहरुमा पनि मन्तव्य राख्नुभएको थियो ।

बैठकमा प्रदेशसभा सदस्य दीपेश थारूले राज्य टुक्र्याउनुपर्छ भन्ने मानसिकता बोकेका रावतसँगको सहमतिको विरोध गर्दै कैलाली घटनामा दोषीमाथि कारवाही नभएको गुनासो गर्नुभयो । अर्का सदस्य कल्पना पाण्डेले रावतसँग सहमति भएपछि स्वतन्त्र मधेशको नारा लगाइएको भन्दै यसमा राष्ट्रिय जनता पार्टीको आपत्ति रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले विद्रोही पक्षधरलाई वार्ता गरेर सरकारले प्रशंसनीय काम गरेको उल्लेख गर्दै सवारी अनुमति चालकपत्र घरघरमा बिक्री भइरहेको आरोप लगाउनुभयो । अर्का सदस्य विष्णु पन्थीले विकासको नयाँ ढाँचा विकास गर्न आग्रह गर्दै पश्चिम क्षेत्रका सडक जीर्ण अवस्थामा रहेको बताउनुभयो भने दिनेश पन्थीले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा प्रदेशसभा सदस्यको भूमिका स्पष्ट गर्न आग्रह गर्नुभयो । रासस