काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदलाई बर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिनु भएको हो । राजपाका मागलाई सम्बोधन गर्ने सरकारको दृष्टिकोणसमेत उहाँले माग गर्नुभयो ।
मधेसका माग सम्बोधन गर्ने भनेर सरकालाई समर्थन गरे पनि एक वर्षभन्दा बढी समयसम्म सम्वादमा रहेको भन्दै सरकारले बारम्बार आश्वासन दिने काम गरेको गुनासो सुनाउनुभयो ।
संविधान संशोधन गर्न दुई तिहाई पुग्छ भनेर आफूहरूले समर्थन दिएको तर सरकारको एक वर्षे रवैया र गतिविधी तथा राजपालाई सम्वादका निम्ति पनि उचित नठानेका कारण आफूहरु समर्थन फिर्ता लिन बाध्य भएको उहाँको भनाइ छ ।

