बिहिबार, असार ०४, २०८३

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै, सत्तापक्ष र विपक्ष समर्थनमा प्रदर्शन

भेनेजुएला । राजनीतिक संकट गहिरिँदै गएको भेनेजुएलामा सत्तापक्ष र विपक्षका प्रदर्शन भइरहेका छन् ।

देशमा विद्युत आपूर्ति बन्द भएपछि विभिन्न सेवामा असर परेपछिको अवस्थामा एक अर्कामाथि आरोप लगाउँदै आएका सत्ता पक्ष र विपक्षी समर्थकले भेनेजुएला भर व्यापक प्रदर्शन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति निकोलश मादुरो र विपक्षी नेता क्आन गुएडोको आह्वानमा प्रदर्शन भएका हुन् । राजधानी काराकासमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता गुएडोका समर्थक र प्रहरीबिच झडप भएको छ ।

प्रहरीले विपक्षी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ । गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गर्नुभएको थियो । त्यसयता राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो एक अर्का विरुद्धको प्रदर्शनमा लागेका छन् ।