म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कार्यशैली नसुधारे कम्युनिस्ट विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शनिबार नेपाली कांग्रेस म्याग्दीको कार्यालय भवन उद्घाटनका लागि बेनी आएका सभापति देउवाले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै कम्युनिस्ट फाल्न आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
हामीले सात सालमा राणा फाल्न, २०४७ सालमा पञ्चायत फाल्न र २०६२/६३ मा राजतन्त्र फाल्न आन्दोलनको नेतृत्व गर्यौँ’, देउवाले भने ‘संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप र सुशासन तथा सुरक्षामा यस्तै ब्यवहार देखाउने हो भने फेरि एकपटक कम्प्युनिस्ट फाल्न आन्दोलन गर्नु नपरोस् । दुई तिहाई बहुमत भएपनि सरकारले एउटा पनि देखाउन लायक काम गर्न नसकेको देउवाले टिप्पणी गरे ।
नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरे । सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दका कारण शंका पैदा गरेको पौडेलले बताए ।

