बिहिबार, बैशाख १७, २०८३

हेलम्बु गाउँपालिकाको कुल विकास बजेट मध्ये ७५ प्रतिशत खर्च

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को कुल विकास बजेट मध्ये ७५ प्रतिशत भन्दा बढी रकम खर्च गरेको छ ।

विकासको लागि छुट्याएको १८ करोड २७ लाख १३ हजार रकमबाट ७५ प्रतिशत रकम खर्च भएर भुक्तनी समेत गरिएको गाउँपालिकाले जानकारी दिएको हो । चैत मसान्तभित्र भुक्तानी नलिएमा रकम नै फ्रिज हुने नीति बनाएकोले यस्तो सम्भव भएको गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । ‘असारको अन्त्यमा मात्रै काम गर्ने परिपाटी अन्त्य गर्न यस्तो प्रयास गरेको उहाँको भनाइ छ ।

असार मसान्तसम्म स्थानीय नागरिक र जनप्रतिनिधिका साथै कर्मचारी समेत काम सम्पन्न र भुक्तानीमा अलमलिने गरेको कारण यो रोक्न चैत मसान्तभित्रै कार्यक्रम सक्नुपर्ने नीति लिएको गाँउपालिका प्रमुख शेर्पाले बताउनुभयो । गाउँपालिकाको विकास बजेटमध्ये पूर्वाधार विकासमा ६ करोड ३९ लाख ११ हजार रुपैंया, आर्थिक विकासमा एक करोड सात लाख पच्चीस हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

त्यस्तै, सामाजिक विकासमा १० करोड ५५ लाख ६९ हजार तथा वातावरण तथा विपद् व्यवस्थापनमा २५ लाख ८ हजार रुपैंया गरी विकास बजेटमा कुल १८ करोड २७ लाख १३ हजार रुपैंया विनियोजन भएको थियो ।

गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत भिमराज कोइरालाले गाउँपालिकामा भौतिक पूर्वाधारतर्फ बृद्धबृद्धाको जमघटको लागि आमा बुवा दिवा सेवा केन्द्र स्थापना गरिएका बताउनुभएको छ । गाउँपालिकाले दलित समूदायको उद्दमशीलता विकासको लागि शुरु गरिएको दलित एकीकृत औद्योगिकरणको भवनको डिपीआर सम्पन्न भएको छ ।