काठमाडौ । मुलुक संघीय संरचनामा गएपछि सरकारले पहिलो पटक नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
नापी विभागले तयार पारेको नयाँ नक्सा हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक गरेको हो । प्रशासनिक नक्सामा देखिएको अन्यौलता हटाउन आधिकारिक नक्सा सार्वजनिक गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताउनुभयो ।
उहाँले चार वटा प्रदेशको नामकरण हुन बाँकी रहेपनि नक्साको बारेमा देखिएको अन्योल चिर्न उपलब्ध सूचना समेटेर अहिले नै सार्वजनिक गरिएको बताउनुभयो । सानो मान मापक नक्सा भएकाले स्थानीय तहको नक्सा भने समेट्न नसकिएको र अब छिट्टै नै प्रदेश, जिल्ला र स्थानीय तह स्तरीय नक्सा तयार पारिने उहाँले बताउनुभयो ।
एक हजार नक्सा छपाइ गरिएको र पहिलो चरणमा सिंहदरबारभित्रका मन्त्रालय एवं कार्यालयमा वितरण गरिने र त्यसपछि प्रदेश, जिल्ला एवं स्थानीय तहहरूमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।
यस्तै, सर्वसाधारणको पहुँचको लागि पुस्तक पसलमा पनि उपलब्ध गराइने छ । साथै, अप्रामाणिक नक्सा भए अनुगमन गरी व्यवस्थित गरिने बताइएको छ । नापी विभागले यसअघि २०३२ मा पहिलो र २०४९ मा दोस्रो पटक प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । ्

