काभ्रे । काभ्रेको तेमालमा बन्न लागेको स्मृति पार्कमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक राखिने भएको छ ।
पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा उक्त पार्क बनाउन लागिएको हो । एक साताअघि हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री अधिकारी सहित सातै जनाको शालिक राख्न पार्क निर्माणको योजना अघि बढाएको ट्रेकिङ एजेन्सिज एसोसियशन अफ् नेपाल (टान)ले जनाएको छ ।
मन्त्री अधिकारी पर्यटन प्रवद्र्धनमा लाग्दा लाग्दै निधन भएकाले उहाँको पनि शालिक राख्न सरकारलाई आग्रह गरिएको टानका निर्वतमान महासचिव कर्ण लामाले बताउनुभयो । तेमाल डाँडाको करिब १ सय ४० रोपनी क्षेत्रफलमा स्मृति पार्क बनाउनका लागि ‘टान’ ले सन् २०११ देखि काम गरिरहेको छ ।
स्मृति पार्क निर्माणकार्यलाई अघि बढाउन पर्यटन बोर्डका साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि रकम विनियोजन गरेका छन् । पार्कको पहिलो चरणको काम अन्तर्गत पार्कस्थलसम्म पुग्ने सिँढी निर्माणको काम भइरहेको छ ।
बुद्धिस्ट मास्टर ट्रेल अन्तर्गत निर्माण भइरहेको स्मृति पार्कसँगै स्थानीय संस्कृति झल्कने संङ्ग्रहालय, वनभोजस्थल, भ्यु टावरका साथै आश्रम स्थल बनाउने योजना पनि रहेको जनाइएको छ ।

