बिहिबार, बैशाख १७, २०८३

कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा

काभ्रे । काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा रहेको नेपाली कागज उद्योग संकटमा परेको छ ।

१५ वर्ष अगाडी दर्ता गरी सञ्चालनमा आउको उद्योग उत्पादित कागजको लागि आवश्यक कच्चा पदार्थ अभावमा संकटमा परेको हो । अहिले उद्योगमा कागज उत्पादन गर्न समस्या भएको उद्योगीहरुले बताएका छन् ।

३ रोपनी जग्गामा सञ्चालनमा रहेको उद्योगमा फ्रेमहरू चाङ लगाएर कागज सुकाउने काम गर्दै आएको छ । त्यहाँ उत्पादित कागज नेपालमा मात्र नभई अमेरिका लगायत अन्य देशहरूमा समेत निर्यात हुँदै आएको थियो ।

विगत दुई तीन वर्ष यता कागजको माग हुन छाडेको सञ्चालक पुरुषोत्तम पौँजुले बताउनुभयो । कागज उद्योगका लागि कच्चा पदार्थ (लोक्ता) पहाडी जिल्ला ईलाम, ताप्लेजुङ र दोलखाबाट ल्याउने गरेका छन् ।

पछिल्लो समय ति जिल्लाहरुमा खपत हुने गरेको र बाँकी रहेको मात्रै यता पठाउने गरेकाले पनि कच्चा पदार्थको अभाव भएको सञ्चालकहरु बताउँछन् । सरकारले कागज उद्योगका लागि कच्चा पदार्थ सहज रुपमा उपलब्ध गर्न पहल गरीदिए कागज उद्योग पनि सञ्चालन हुने र रोजगारी समेत पायने उद्योगीहरुको भनाइ छ ।