बिहिबार, बैशाख ०६, २०८१

गुठी संस्थालाई थाहा छैन, कति छ आफ्नो जग्गा

काठमाडौ। १४ लाख रोपनी जग्गा र तीन अर्ब रुपैयाँ नगद। सरकारबाट ३५ अर्ब रुपैयाँ पाउन बाँकी। गुठी संस्थानसँग रहेको नगद तीन अर्ब र सरकारबाट पाउनुपर्ने ३५ अर्ब जोड्दा ३८ अर्ब रुपैयाँ हुन आउँछ।

सरकारअन्तर्गत स्वायत्त गुठी संस्थान सबैभन्दा धनी संस्था भए पनि सरकारले नै यसलाई निरीह बनाएको छ। संस्थान कमजोर हुँदा गुठीका जग्गा अतिक्रमण गर्ने र हडप्ने गतिविधि चलिरहेको छ। त्यसलाई रोक्न संस्थानले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन। सरकारदेखि व्यक्तिसम्मले उसको जग्गा अतिक्रमण गरिरहेका छन्।

देशभर १४ लाख रोपनी जग्गा भएको गुठी संस्थानलाई सरकारले नै निरीह बनाएको छ। संस्थान कमजोर बन्दा गुठीका जग्गा अतिक्रमण चलखेल बढ्दो छ। संस्थानका प्रवक्ता सरोज थपलिया अतिक्रमित जग्गाको संरक्षणमा सरकारबाट आवश्यक सहयोग नपाएको बताउँछन्। उनी भन्छन्, ‘अतिक्रमण गर्नेलाई हटाउन सरकारबाट पर्याप्त सहयोग भएन।’

गुठीको महंगो मूल्य पर्ने जग्गा सरकार, विभिन्न संघसंस्था र व्यक्तिले कब्जा गरेको थपलियाले बताए। उनका अनुसार अतिक्रमित जग्गा व्यवस्थापन गर्न नसक्दा राज्यको सम्पत्तिको सही सदुपयोग हुन सकेको छैन। संरक्षण गर्न सहयोग गर्ने सरकारले नै गुठी जग्गा कब्जा गरेको छ।