काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताउनुभएको छ । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०आँै यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले गौतमजस्ता घटनाबाट शिक्षा लिँदै मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भइसकेकाले सशस्त्र द्वन्द्वका घटनाबाट अहिले पश्चाताप नलिई शिक्षा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो घटना जे जे भए त्यसबाट पश्चाताप लिनु हुँदैन । सबैलाई सम्झीसम्झी मन अमिलो पार्न पनि सकिँदैन ।
उहाँले गौतमजस्ता शहीदको सपनालाई पूरा गर्न मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । रक्षामन्त्री पोखरेलले दुई पार्टीको सहकार्य, संवाद र मित्रता बढेपछि एकता भएको भन्दै नेपाली जनता र कार्यकताको चाहना तथा राष्ट्रको आवश्यक भएकाले नै एकता भएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले यदुकुमार गौतमको हत्याले मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । त्यतिबेला गौतमको हत्या नहुनुपर्ने घटना थियो” उहाँले भन्नुभयो, “पार्टीको योजना र नीतिभन्दा बाहिर गएर उहाँको हत्या भएको थियो । सशस्त्र युद्धको विकास गर्नमा गौतमको ठूलो योगदान रहेको उल्लेख गदै उहाँले सशस्त्र गौतमजस्ता मुलुक परिवर्तन गर्नेका लागि नभई सामन्तवाद र निरंकुश अन्त्यको लागि रहेको धारणा राख्नुभयो ।
सांसद तथा गौतमकी धर्मपत्नी तीर्था गौतमले समय बदलिएकोले अब पुराना घाउलाई कोट्याउन नहुने बताउनुभयो । “उहाँको हत्या भएको पनि दुई दशक भयो । अब नयाँ सोचाइ र ढङ्गबाट मुलुकलाई अगाडि बढाउनुपर्दछ’’ उहाँले भन्नुभयो, “पुराना कुरालाई नभई अब मुलुकलाई समृद्धि बनाउने दिशामा लाग्नुपर्दछ ।” गौतमले कम्युनिष्ट एक ठाउँमा आएर मात्र मुलुकको विकास हुन्छ भनेर भन्ने गरेको उल्लेख गदै उहाँले भन्नुभयो, “अहिले उहाँले भनेको जस्तै पार्टी एक भएको छ । उहाँले भनेको बाटोमा लागेर मुलुकको समृद्धि गर्नुपर्दछ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषिकुमार जैसीले गौतमले अङ्गालेको विचारमा लागे मुलुकको परिवर्तन गर्न सकिने बताउनुभयो । यदु स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका पत्रकार हरिनारायण गौतमलाई सम्मान गरिएको छ । सशस्त्र युद्धमा कलम चलाएवापत गौतमलाई १५ हजार रुपियाँको पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी गराउनुभयो । गौतमलाई रक्षामन्त्री पोखरेले र नेकपाका स्थायी कमिटी सदस्य शर्माले पुरस्कार प्रदान गर्नुभयो ।
विसं २०५५ फागुन २१ गते तत्कालीन एमालेबाट रुकुम–२ बाट उम्मेदवार भएको बेला तत्कालीन माओवादीबाट उहाँको रुकुमको गरैला नजिक सानो भेरी नदीको छेउमा हत्या गरिएको थियो । गौतम तत्कालीन एमालेका जिल्ला कमिटी सचिव रहनुहुन्थ्यो ।

