काठमाडौ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यामा आयोजना हुने टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन शिवाकोटीले केन्याले आयोजना गर्न लागेको प्रतियोगिता खेल्ने जानकारी दिनुभयो । आउने मार्चको अन्तिममा केन्यामा आयोजना हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने निश्चित भएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को आयोजना नभएको कारणले खेलाडी र अन्य विवरण आउन समय लाग्ने उहाँको भनाई छ ।
नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुँदैछ ।

