बिहिबार, बैशाख १७, २०८३

पश्चिमी वायु अझै सक्रिय भोलिसम्म पानी पर्ने

काठमाडौ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी सूचना निकालेर सोमबार राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो।

सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ। प्रिःमनसुन शुरु भएको र पश्चिमी वायु कमजोर बन्दै गएकाले ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सोमबार मौसममा सामान्य सुधार आएपनि मङ्गलबार पश्चिमी वायुको प्रभाव बढी पर्ने देखिएको छ। बुधबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउनेछ। महाशाखाको पछिल्लो विवरणअनुसार देशका अधिकांश स्थानमा हल्का वर्षा भएको छ।