काठमाडौँ । उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।
अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।
अधिकारीका तीन छोरी छन् । तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात् २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री हुनुभयो । ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम उहाँकै पहलमा घोषणा गरिएका हुन् ।
वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिनुभएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गर्नुभयो ।
२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताउनु भएको थियो । नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डु सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी कार्यक्रम समेत ल्याउनु भएको थियो ।
नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वाचित हुनुभएका उहाँ दोस्रो संविधानसभामा समानुपातिक सभासद बन्नु भएको थियो ।

