बिहिबार, बैशाख ०६, २०८१

जापानी बजारमा खाद्यवस्तु र पेयपदार्थहरुको मूल्यमा वृद्धि

टोकियो । जापानी बजारमा केहि माछाजन्य खाद्यवस्तु र पेयपदार्थहरुको मूल्यमा वृद्धि भएको छ । उत्पादन लागतका साथै वितरणमा खर्च वृद्धि भएका कारण शुक्रबारदेखि लागू हुनेगरि मूल्यमा वृद्धि भएको जनाईएको छ ।

यसका साथसाथै आगामी अप्रिलदेखि दूध, दहीजन्य वस्तुका साथै ठूला बोतलका पेयपदार्थहरुमा पनि मूल्य वृद्धि हुने जापानी संचारमाध्यमहरुमा प्रकाशित समाचारमा जनाइएको छ ।

समाचारमा जनाइए अनुसार मेइजी कम्पनीका डेरीजन्य उत्पादनका २३ वटा वस्तुहरुको खुद्रा मूल्यमा १ सय ४० देखि १ सय ५१ येनसम्म वृद्धि हुने एक विज्ञप्तीमार्फत जानकारी गराईएको छ । विज्ञप्तीमा, उत्पादक कम्पनी मेइजीले भनेको छ आधारभूत मापदण्डअनुसार सकेसम्म मूल्यमा सन्तुलन ल्याउन खोजिएको हो, तथापि उत्पादनमा हुने लागत खर्च वृद्धिका कारण साबिकै मूल्यलाई निरन्तरता दिन नसकिएको हो ।

मूल्य वृद्धि भएका आइटमहरुमा मोरिनागाका उत्पादन आइसक्रिम, दूध, एजाकी ग्लिको, लोत्ते, चिकुवा लगायतका माछाजन्य वस्तुका साथै फ्रोजन आइटममा ५ देखि १३ प्रतिशतसम्म मूल्य वृद्धि हुने भएको हो ।

यसका साथै कोकाकोला बोतलर्स र सन्तोरी बेभरेज एण्ड फुड कम्पनीले पनि २५ वर्षपछि आफ्ना उत्पादनका पेय पदार्थमा अप्रिलदेखि मूल्य वृद्धि गर्न लागेको हो । ती वस्तुहरुमा करीव २० येनदेखि माथि मूल्य बढ्ने भएको हो। मूल्य वृद्धिसंगै आगामी अक्टुवरदेखि वृद्धि हुन गईरहेको १० प्रतिशत उपभोग्य कर समेतले गर्दा सर्वसाधारणको पारिवारिक खर्च अझ प्रभावित हुने अनुमान गरिएको छ ।