बिहिबार, बैशाख १७, २०८३

मेरो चरित्र हत्या गर्ने षडयन्त्रमूलक विचार राखेर कुप्रचार गरियो : गौतम

काठमाडौं । नेकपा नेता वामदेव गौतममले स्व.रविन्द्र अधिकारीकाे निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै तत्परता नदेखाएकाे प्रष्ट पारेका छन् ।

आफ्ना विरुद्ध कुत्सित उद्देश्यप्रेरित कुप्रचार सुरु गरिएकाे भन्दै उनले असन्तुष्टि जनाएका छन् । आफ्नाे फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै हेलिकप्टर दुर्घटनामा परी हालै मृत्यु भएका नेकपा सांसद स्व रवीन्द्रकाे निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै मनसाय नदेखाएकाे प्रष्ट पारेका हुन् ।

निवर्तमान संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका रवीन्द्रकाे निधनपछि उनकाे निर्वाचन क्षेत्र कास्की- २ खाली भएकाे छ । साे क्षेत्रमा अब हुने उप-निर्वाचनका लागि स्व अधिकारीकै परिवारका सदस्यलाई उम्मेदर बनाउन माग गरेर नेता गाैतमले आफूले पनि साे कुरामा पहल गर्ने बताएका छन् ।

स्व अधिकारीकाे अन्त्यष्टिमा नेता गौतम सहभागी भएर कास्की-२ काे उपनिर्वाचनमा आफू जाने दाउ खेलेकाे भन्दै केही मीडिया र समाजिक सञ्जालका प्रयाेगकर्ताले प्रचारमा गरेका थिए, जसलाई नेता गाैतमले आफ्नाे चरित्र हत्या गर्ने ‘निकृष्ट र षडयन्त्रमूलक’ कार्य भनेका छन् ।

‘नेपाली राजनितिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ,नेता गाैतमले भनेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो ।

आफ्नाे इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने उनले प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘मेरो सम्पूर्ण प्रयत्न स्व.क. रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउनेछु ।

शुक्रबार पाेखरास्थित रामघाटमा स्व रवीन्द्रको अन्तेष्टि गरिएकाे थियाे । साे कार्यक्रममा नेता गौतम पनि सहभागी थिए ।