बिहिबार, बैशाख १३, २०८१

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

ताप्लेजुङ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो ।

भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो । यो प्र्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेका हेलिप्याडबाट भुँई छाडेको देखिएको हो ।

तेह्रथुमको आठराईबाट ११ बजेर ३० मिनेटमा पाथीभरातर्फ प्रस्थान गरेको हेलिकोप्टर ११ बजेर ४९ मिनेटमा पाथीभरा मन्दिरको हेलिप्याडमा अवतरण भएको उक्त प्रविधिले देखाउँछ ।

तेह्रथुमको आठराईमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश पोडारले राखेको उडान अभिलेखमा पनि तेह्रथुमको आठराईबाट ठिक ११ बजेर ३० मिनेटमा हेलिकप्टर उडान भएको उल्लेख छ ।  नागरिक दैनिकमा खबर छ।