विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी नेता मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि पहिलेको तुलानामा फेरिएको बताएका छन् ।
देश टुक्रयाउँछु भन्नेहरु खुलेआम हिडिरहँदा दुई तिहाई बहुमतको सरकार कठोर बन्न नसकेको उनले बताए ।
ओलीसँग एक बर्ष सँगै बसेर काम गरेको बताउँदै उनले पछिल्लो समय ओलीको गतिविधी पहिलेको तुलनामा फरक भएको बताए । ‘मैले उहाँलाई राष्ट्रवादी र निर्णय लिन सक्ने नेताको रुपमा चिनेको थिएँ’ २०७२ मा ओली सरकारको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले भने, ‘तर अहिलेको केपी ओली फरक पाएको छु, उहाँ कसैको दबाव र प्रभावमा हुनुहुन्छ ।’
मेची महाकाली अभियानका क्रममा शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओली कसैको घेराबन्दीमा परेको आफूलाई जानकारी नभएको बताए ।
‘हिजो भारतको आर्थिक नाकाबन्दीमा अडान लिएको कारणले गर्दा जनताले सम्मान गरेका नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । तर, किन देश टुक्राउने गतिविधी हुँदा कुनै कारवाही गर्नुहुन्न ?’ थापाको प्रश्न छ, प्रधानमन्त्री कुन शक्तिको दबाव र प्रभावमा त पर्नु भएको छैन ?’
आफूलाई राष्ट्रवादी भन्ने सरकार देश टुक्रयाउँछु भन्ने तत्वसँग लाचार भएको उनको दाबी छ ।

