बिहिबार, बैशाख १७, २०८३

स्व. अधिकारीको पार्थिक शरीरमा राष्ट्रपति, प्रधानमन्त्रीबाट श्रद्धाञ्जली अर्पण

काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि अहिले टँुडिखेलमा राखिएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाउनुभयो ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभयो ।

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।