शुक्रबार, बैशाख ०७, २०८१

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

काठमाडौँ । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका विद्वान्को सहभागिता रहने जनाइएको छ । कार्यक्रममा वैदिक र आधुनिक विज्ञानका बारेमा छलफल हुने फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।
सम्मेलनमा वेदलाई आधुनिक विज्ञानले प्रमाणित गरेका सन्दर्भमा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । कार्यक्रममा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ ।
कार्यक्रममा विश्वशान्तिका लागि योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट पर्ने प्रभावका बारेमा वैज्ञानिक रुपमा गरिएको अध्ययनका बारेमा प्रस्तुतिसहित छलफल गरिने छ । विश्व शान्तिका लागि हाल नेपालका ७५ गुरुकूलमा वैदिक रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउन्डेशनले जनाएको छ ।
वैदिक गुरु परम्पराबाट आएको यो ज्ञानको पछिल्लोपटक महर्षि महेश योगीले विश्वव्यापीरुपमा जागरण गर्नुभएकाले महर्षिका नाममा संस्था स्थापना गरी गतिविधि भइरहेको जनाइएको छ । हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ । रासस