काठमाडौ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अर्काे वर्षदेखि एउटै गुणस्तरका कपडा खरिद गर्ने भएका छन् ।
समान गुणस्तरमा रङ्ग मात्र फरक पर्ने गरी टेन्डर गर्ने सुरक्षा निकायले तयारी गरेको हो । सुरक्षाकर्मीले पाउने कपडासहित स्केलका सामानको गुणस्तर निर्धारण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकको संयोजकत्वमा एक समिति नै बनेको छ ।
समितिमा सेना, नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि सदस्य छन् । कपडाको गुणस्तर एउटै हुने र ती सामानको रङ्ग मात्र फरक गरी टेन्डर गर्ने सुरक्षा निकायको तयारी छ ।
ज्याकेट, सर्ट, पाइन्ट, स्विटर, जुत्तालगायत सबै स्केलका सामानको निश्चित गुणस्तर निर्धारण गर्न लागिएको छ । यसअघि सुरक्षा निकायले खरिद गर्ने कपडालगायत स्केलका सामानको नमुना परीक्षण गर्नसमेत भारत पठाउनुपर्ने अवस्था थियो । अब नेपालमै परीक्षण हुनेछ ।

