बिहिबार, बैशाख १७, २०८३

सरकारले चुरे क्षेत्र संरक्षणको जिम्मा सेनालाई दिने तयारी

काठमाडौं । सरकारले चुरे क्षेत्र संरक्षणको जिम्मा सेनालाई दिने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चुरे ध्वस्त भइरहेका कारण त्यसको संरक्षण सेनाले गर्ने बताएका छन्।

एक वर्षको कार्यकालमा रक्षा मन्त्रालयबाट भएका मुख्यमुख्य कामको मंगलवार जानकारी दिँदै रक्षामन्त्री पोखरेलले चूरे अतिक्रमणको काम सेनाले गर्ने बताए।

राष्ट्रपति चुरे संरक्षण कार्यालय प्रभावकारी नभएपछि सेना खटाउने तयारी गरिएको हो। ‘चुरै ध्वस्त हुँदा तराई मरुभूमी भएको छ,’ उनले भने, ‘भित्री मधेस र पहाड समेत खतम भइरहेको छ।’ रक्षा मन्त्री पोखरेलले चुरे संरक्षणको अरबौं रकमको दुरुपयोग भइरहेको बताए। ‘चुरे संरक्षणको पैसा चापकल बनाउन खर्च भएको छ’, उनले भने।

ऐतिहासिक गढी, किल्ला र स्तम्भको रक्षामा पनि सेना खटाइने भएको छ। गढी, किल्ला रस्तम्भको रक्षा गनु सेनाको गाथा गाउने कुरा मात्र होइन,रक्षामन्त्री पोखरेलले भने‘इतिहासको संरक्षणको कुरा हो।’ उनले राष्ट्रियता कुरा नारा लगाएर मात्र नहुने बताए ।

सेनाले द्वन्द्वकालमा पीडित भएका सेनाका परिवार राहत दिने व्यवस्था गरेको छ। सैनिक सेवा (पहिलो संशोधन) नियमावलीमा संशोधन गर्दै द्वन्द्वमा मारिएका सेनाका परिवारलाई राहत दिने व्यवस्था गरिरहेको मन्त्री पोखरेलले जानकारी दिए।

कार्य क्षेत्रमा खटिँदा सैनिक जवानको मृत्यु भएमा एक तह बढुवा गरिने र परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक समेत उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।