बिहिबार, चैत १५, २०८०

नेकपाले मनोमानी गरे सरकारमा बस्ने वा नबस्ने बारे सोच्ने अवस्था आउछ : श्रेष्ठ

दमक । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी संयुक्त सरकारको अवधारणाबाट चल्न नसकेको आरोप लगाएका छन् ।

सोमबार ससफो नेपाल दमक नगर समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सङ्घीय सांसदसमेत रहेका सहअध्यक्ष श्रेष्ठले भने नेकपा आफूखुशी र मनोमानी निर्णयबाट अघि बढे सरकारमा बस्ने वा नबस्ने बारे सोच्छौं ।
नेकपाले राजनीतिक नियुक्तिहरुमा एकल निर्णय गर्ने रबैया संयुक्त सरकारको मर्म विपरित रहेको भन्दै श्रेष्ठले राजदूत नियुक्ति, संवैधानिक आयोगहरुमा नियुक्ति लगायत कार्यहरु ससफो नेपाललाई पाखा लगाउन खोज्नु भएको दावी गरे ।
संविधान संशोधनको बाटोबाट पहिचानसहितको १० जोड १ प्रदेशसहितको सङ्घीयता स्थापित गर्न आफूहरु सरकारमा सामेल भएकाले संविधान संशोधनमा नेकपा इमान्दार हुनुपर्ने श्रेष्ठको भनाई थियो ।

नेता श्रेष्ठले १ नम्बर प्रदेशमा आफूहरुले दावी गरेको लिम्बुवान प्रदेश, किरात प्रदेश र आंशिक रूपमा मधेस र शेर्पालुङ प्रदेशको भूभाग समेत रहेकाले तत्काललाई लिम्बुवान-किरात संयुक्त स्वायत्त प्रदेश नामाकरण गरेर जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पार्टीका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले निरन्तर पार्टी निर्माण र निरन्तर राजनीतिक संघर्षबाट ससफोले पहिचानसहितको १० जोड १ प्रदेश कायम गराएरै छाड्ने बताए ।

केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश सांसद रामचन्द्र तुम्बाले संसद्मा आफूले विशेष समय माग गरेर १ नम्बर प्रदेशलाई लिम्बुवान-किरात प्रदेश नामाकरण गराउन जोड दिने बताए ।

कार्यक्रममा प्रदेश सांसद राधा थापा, केन्द्रीय सदस्यहरु नवराज गुरुङ, हरिदेवी राई, भक्त खेवाङ, जिल्ला अध्यक्ष धिरेन सुब्बा लावतीलगायतले अधिवेशन सफलताको लागि शुभकामना दिएका थिए ।

यसैबीच ससफो नेपाल दोस्रो नगर अधिवेशनले खेम दाहालको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ ।समितिका सदस्यहरु गंगा राई शेर्मा, उमा मगर लिम्बू, पन्चमाया लिम्बू, शान्ता पालुङ्वा, भीम विक, रितु चाम्लिङ, सुमन माङ्युङ, सुनिता लावती, सुनिल राई, राजिब शंकर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मनबहादुर आङ्देम्बे, पम्फा राई, बबिता न्यौपाने, रन्जना सम्बाहाम्फे, कालिकादेवी सार्की, लीला आङ्देम्बे, कल्पना लिम्बू, कल्पना राई, खेमबहादुर राई र भेषराज लिङ्दम चयन भएका हुन् ।
नगर समितिको पहिलो बैठकबाट एक उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष चयन गर्ने निर्वाचन समितिका सदस्य धिरेन सुब्बा लावतीले जानकारी दिए ।
बन्द शत्रमा निवर्तमान नगर अध्यक्ष वासुदेव राईले सांगठनिक प्रतिवेदन र सचिव हरि राईले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।