शनिबार, बैशाख ०८, २०८१

कोइरालाहरूको पुख्र्यौली थलोमा बिपी प्रतिष्ठान निर्माण गरिने

दुम्जा (सिन्धुली) । चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुख्र्यौली थलो दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१, दुम्जा पूर्व प्रधानमन्त्रीहरू बिपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुख्र्यौली थलो हो । मातृका, बिपी र गिरिजाप्रसादका पिता कृष्णप्रसाद त्यहाँ पानीको अभाव भएपछि विराटनगर बसाइँ सर्नुभएको थियो ।

विसं १९५० मा बनेको कृष्णप्रसादको घरको भग्नावशेष अझै दुम्जामा छ । विसं १९९० को भूकम्पले क्षति नपुगेको यो घर २०७२ वैशाख २९ गतेको भूकम्पले भत्केको थियो । वैशाख १२ र १३ गतेको भूकम्पले कोइराला परिवारको यो ऐतिहासिक थलोमा क्षति पुगेको थिएन । सिन्धुपाल्चोक र दोलखाको सिमानामा केन्द्रविन्दु भएको वैशाख २९ गतेको भूकम्पले यो धरोहर गल्र्यामगुर्लुम ढल्यो ।

घरको संरक्षण गर्दै आउनुभएका शङ्करप्रसाद कोइराला बिपी प्रतिष्ठान र उद्यान निर्माणका लागि १४९ रोपनी जग्गा अधिग्रहणका लागि हाल रोक्का राखिएको बताउनुहुन्छ । कृष्णप्रसाद यहाँबाट बसाइँ सरेपनि छोराहरू मातृका, बिपी, केशव र गिरिजाप्रसादलाई लिएर पछिसम्म पनि यहाँ आउजाउ गर्नुहुने आफ्ना पिताले सुनाउने गर्नुभएको उहाँको स्मरणमा छ ।

प्रतिष्ठान निर्माणका लागि ७७ रोपनी सार्वजनिक र ७२ रोपनी विभिन्न व्यक्तिका नाममा रहेको जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको गाउँपालिका–१ का अध्यक्ष विमलमान मोक्तानले बताउनुभयो । जीर्ण घर भूकम्पले भत्किनुअघि नै बिपी सङ्ग्रहालय सुन्दरीजलले मर्मत गरेर संरक्षण गर्न विसं २०७१ असारमा आर्थिक सहयोग गरेको थियो ।

जीर्ण घर मर्मत गर्ने प्रक्रिया अघि बढिरहेकै बेला २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्प एवं पटक पटकको परकम्पले सुन्दरीजलस्थित सङ्ग्रहालयमै क्षति भएपछि दुम्जाको घर ओझेलमा परेको थियो ।

घर मर्मतको प्रक्रिया शुरु गर्न लाग्दा भूकम्पले भत्किएपछि कुनै निकायले पनि यसको संरक्षणका लागि पहल नगरेको स्थानीय बच्चु कोइरालाले गुनासो गर्नुभयो । ऐतिहासिक स्थलको संरक्षणका लागि यसको वरपर जग्गा पर्ने १४ जग्गाधनीले सहमति जनाइसकेकाले शहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको छ ।

भग्नावशेष अवस्थामा रहेको यस क्षेत्रको शनिबार पुरातत्व विभागका प्राविधिकहरूले नापजाँच गरेका छन् । जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणसम्बन्धी प्रक्रियाको फाइल अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ । कोइरालाको जीर्ण घर क्षेत्रको शनिबार बिपी सङ्ग्रहालयका पदाधिकारीहरूले अवलोकन भ्रमण गरेका छन् ।

चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् लगायत ऐतिहासिक व्यक्तित्वको पुख्र्यौली थलोको संरक्षण गरी दर्शनीय स्थलका रुपमा विकास गर्न सङ्ग्रहालयले समन्वय एवं सहकार्य गर्न लागेको अध्यक्ष परशुराम पोखरेलले बताउनुभयो । “प्रतिष्ठान एवं उद्यान निर्माणका लागि सरकारका सरोकार भएका निकायलाई अनुरोध गरिरहेका छौँ, सरकारी निकायले प्रक्रिया अघि नबढाए सहयोग जुटाएर भएपनि निर्माण गर्नेछौँ, यसका लागि व्यक्तिगतरूपमा सहयोग गर्न पनि हामी जुटेका छौँ”, उहाँले भन्नुभयो ।

सङ्ग्रहालय र दुम्जाबीच सम्बन्ध बढाउन पनि अवलोकन भ्रमण गरिएको जनाइएको छ । सङ्ग्रहालयले कोइरालाहरूको थातथलोबाट कृष्णप्रसादले नै प्रयोग गर्नुभएको ठेकी, कोदाली सङ्ग्रहका लागि ल्याएको छ । कृष्णप्रसाद, बिपी एवं कोइराला परिवारका अन्य सदस्य र प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित यस्ता ऐतिहासिक सामग्री केही भए खबर गर्न पनि अध्यक्ष पोखरेलले दुम्जावासीमा आह्वान गर्नुभयो ।

पूर्व गृहमन्त्री एवं नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले दुम्जा पुगी यो स्थानको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । गृहमन्त्री भएकै बेला निधिले गर्नुभएको वाचाअनुसार दुम्जामा काम हुन नसकेको यहाँका स्थानीयवासीको गुनासो छ । शासन सत्तामा पुगेका कोइराला परिवारका सदस्यले भने यसको संरक्षणमा चासो नदेखाएको यहीँ बसिरहेका बन्धुहरूको गुनासो छ ।

हाल यहाँ ६० घर कोइरालाहरूको बसोबास छ । धेरै कोइरालाहरू यहाँबाट अन्यत्र बसाइँ सरे । बिपी राजमार्गबाट छ किमीको दूरीमा भएपनि यहाँ अझै पूर्वाधारको सहजता छैन । हालसालै ट्र्याक खुलेको कच्ची धुले सडकबाट जेनतेन ‘रिजर्भ’ गरेका सवारी पुग्छन् । सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन । खानेपानीको अझै समस्या छ ।

सभामुख कृष्णबहादुर महराले विसं २०७३ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री रहनुभएका बेला दुम्जामा रहेको पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको पुख्र्यौली थलो घुम्नुभएको थियो । बिपीका पिता कृष्णप्रसादको भत्किएको घर हेर्ने इच्छाले उहाँ आउनुभएको स्थानीयवासीले जानकारी दिए ।

स्थानीयवासीका अनुसार त्यसबेला महराले बीपीको पुख्र्यौली घरको चासोका साथ निरीक्षण गर्नुभएको थियो । उहाँले त्यही समयमा रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल जन्मेको स्थान भँगेरीको पनि भ्रमण गर्नुभएको थियो ।

यहीँ बिपी, मातृका, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, साहित्यकार धरणीधर कोइराला, महानन्द सापकोटा, दीर्घराज कोइराला लगायतले विसं २००८ मा स्थापना गरेकोे कुशेश्वर विद्यापीठ पनि छ । ऐतिहासिक यस विद्यालय परिसरमा विसं २००७ अघि र २०१७ सालपछि पनि प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि भूमिगतरूपमा क्रान्तिमा लागेका नेता कार्यकर्ता लुक्ने गरेको स्थानीय कपिल कोइरालाले जानकारी दिनुभयो ।

प्रजातान्त्रिक आन्दोलनलाई विभिन्न तरिकाले सघाएको यो स्थलको संरक्षणका लागि स्थानीयवासी पहिल्यैदेखि जुटेपनि शासनसत्तामै पुगेका कोइरालाहरूको ध्यान नजाँदा सफल हुन सकेन । काङ्ग्रेस महासमिति सदस्य शान्ता कार्की सरकारी निकाय एवं सङ्ग्रहालयको समेत सहयोग लिएर दुम्जामा बिपी प्रतिष्ठान र उद्यान निर्माण गर्न लागिएको बताउनुहुन्छ ।

अधिग्रहण हुने १४९ रोपनी जग्गामा बाल, ज्येष्ठ नागरिक, युवा, साहित्य लगायतको छुट्टाछुट्टै उद्यान निर्माण गर्ने लक्ष्य राखिएको जनाइएको छ । शनिबार दुम्जामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं सङ्ग्रहालयका महासचिव तारिणीदत्त चटौत, पूर्व सांसद पुरुषोत्तम बस्नेत, काङ्ग्रेस सिन्धुलीका उपसभापति खड्गबहादुर वाइवा, काङ्ग्रेस महासमिति सदस्य सुशीला थिङ, दुम्जाका पूर्व गाविस अध्यक्ष शम्भुप्रसाद दाहाल लगायतले प्रतिष्ठान र उद्यान निर्माणका लागि सबै पक्षको सहयोग आह्वान गर्नुभयो ।–पूर्णप्रसाद मिश्र /रासस