बिहिबार, बैशाख १७, २०८३

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, एक जना गम्भीर घाइते

न्युयोर्क ।  अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ । बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन् ।

अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो । उक्त घटना गत बिहीबार राति साढे ११ बजेतिरको हो । मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए ।

गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन् । अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइते बानियाँको भने नेपालको ठेगाना खुलेको छैन ।

त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलको विवाद भएको बुझिएको छ । ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ । मृतक घलेका बुबा(आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिंगापुरमा बस्ने बताइएको छ।